१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यू-१८ एशियाली रग्बी : पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी


403
Shares

काठमाडौं । पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यू–१८ एशियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित गर्‍यो ।

त्यसअघि आइतबार नै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेस्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्याण्डलाई १९–० ले पन्छाउँदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्याण्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता गर्‍यो । महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौति २६–५ ले समाप्त पार्‍यो । मलेसियाले थाइल्याण्डलाई १९–७ ले हराउँदै तेस्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एशिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।