२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलाली १ बाट तीन महिला प्रतिनिधि सभामा


130
Shares

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा तीन जना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ ।

क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)का रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधि सभा सदस्यमा सहभागिता हुने भएको हो ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको पछिल्लो विवरणमा सो क्षेत्रबाट माओवादी र कांग्रेसले क्रमशः चौधरी र न्यौपानेको नाम सिफारिस गरेसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीनजना महिलाको सहभागिता हुने देखिएको हो ।

प्रत्यक्ष निर्वाचनमा विजयी रञ्जिता श्रेष्ठ चौधरीको संसदीय यात्रा पहिलो रहँदा न्यौपाने र चौधरी दुवै जनाले यसअघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिई सकेका छन् । टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक्लो महिला हुन् ।

समानुपातिकतर्फ सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा प्रमुख दलमध्ये नेपाली कांग्रेसले डा. आरजु राणा देउवा (डडेलधुरा) र ईश्वरी न्यौपनो (कैलाली) र माओवादीले स्वसी चौधरीलाई (कैलाली)बाट सिफारिस गरेको छ ।

अर्को प्रमुख दल एमालेबाट भने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सुदूरपश्चिमबाट महिलाको सिफारिस शून्य रहेको छ । एमालेबाट प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार रहेका गौरी ओली, डोटी र निरुदेवी पाल, कञ्चनपुरबाट पराजित भएका थिए । यसअघि संविधानसभाको सदस्य रहिसकेकी कांग्रेस नेत्री राणा हाल पार्टीको केन्द्रीय सदस्य छिन् ।

यस्तै, संविधानसभा सदस्य रहेकी कांग्रेस नेत्री न्यौपाने भने २०७४ को निर्वाचनमा कैलाली–१ बाट प्रत्यक्ष निर्वाचनमा पराजित हुनुभएको थियो । माओवादी केन्द्रकी रुपा स्वसी पहिलो संविधानसभा सदस्यमा सोही क्षेत्रको प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा यसै क्षेत्रबाट प्रत्यक्ष चुनावमा निर्वाचित रेशमलाल चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गरी कारावासको फैसला सुनाएपछि सो क्षेत्रका जनताले सांसदविहीनताको महसुस गरेका थिए ।

हालै सम्पन्न निर्वाचनबाट भने क्षेत्र नं १ ले प्रतिनिसभामा तीनजना सशक्त महिलाको उपस्थिति देखिएको छ । आ–आफ्नो पार्टीभित्र प्रभावशाली नेताका रुपमा हेरिने तीनै जना महिला एकै पटक, एकसाथ सङ्घीय संसद्मा चुनिँदा यस क्षेत्रको विकास, महिला सशक्तीकरण, सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्लेषण गरिन थालिएको छ ।