
काठमाडौं । नेपालमा विज्ञहरुले सडक सुरक्षाको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।
सरकारले सडक सुरक्षाका लागि आवश्यक श्रोत, साधन परिचालन गर्न नसकेको उनीहरुको बुझाइ छ ।
सरकारले सडक सुरक्षाको लागि पर्याप्त मात्रामा श्रोत, साधनको परिचनालन गर्न नसकेकाले सडक दुर्घटनाहरु बढ्दै गएको विज्ञहरुको निचोड छ । उनीहरुले विदेशी राष्ट्रहरुले सडक दुर्घटना कम गर्दै शून्य दुर्घटनाको योजनामा अघि बढ्न थालेपनि नेपालमा भने हालसम्म पनि सडक सुरक्षाको लागि आवश्यक श्रोत, साधन नै परिचालन गर्न नसकिएको बताए ।
नेपालले दुर्घटना न्युनिकरणको प्रयास र सडक सुरक्षालाई मुख्य प्राथमिकता दिन उनीहरुको आग्रह छ । सडक सुरक्षा सम्बन्धी विज्ञ डा.पुष्पराज पन्तले नेपालले सडक सुरक्षालाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा दैनिक रुपमा सडक दुर्घटनाका घटनाहरु बढ्दै गएपनि सडक निर्माण बाहेकका सडक सुरक्षाका लागि आवश्यक व्यवस्थापन हुन नसकेको बताउनुभयो ।
उहाँले सडक सुरक्षा संकेत तथा तालिम दिनका लागि सरकारले सडक सुरक्षामा पर्याप्त बजेट नछुट्याउने लगायतका कमजोरीहरु गरिरहेको बताउनुभयो । उहाँले साधन, श्रोतहरुको परिचालन हुन नसक्नु, आम नागरिक, नागरिक समाज, राजनीतिक दलहरुले समेत सडक सुरक्षाको आवश्यकता महशुस गर्न नसकेको बताउनुभयो । सडक सुरक्षा विषयमा छुट्टै ऐन आवश्यक भएको पन्तले बताउनुभयो ।
उहाँले नेपालको जनसंख्या युवाहरुको बढी भएकाले सडक दुर्घटनामा पनि युवाहरुको मृत्यु बढी हुने गरेको बताउनुभयो । नेपाल सडक सुरक्षाको हिसावले मध्यम स्थानमा पर्ने बताइन्छ । नेपालमा प्रति एक लाख मानिसमा १६ जना सम्मको सडक दुर्घटनामा परी निधन हुने गरेको तथ्यांक छ । यो थाइल्याण्डबाहेक एशियाको अन्य मुलुकभन्दा उच्च रहेको विज्ञ पन्तले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्