
सिन्धुली । केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध, तथा शुभकार्यमा बजाइने नेपाली लोकवाजा, पञ्चेबाजा र नौमतीबाजा पछिल्लो समयमा आएर लोप हुन थालेपछि सिन्धुलीमा लोकबाजाको संरक्षण अभियानको थालनी गरिएको छ ।
लोकबाजा संरक्षणको अभियान अनुसार बिबाह, ब्रतबन्ध लगायत विभिन्न शुभ कार्यहरुमा नेपाली लोकबाजा, पञ्चेबाजा र नौमतीबाजा बजाउने काममा जोड दिईएको हो ।
नेपाली मौलिक सभ्यता, लोकलय र संस्कृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको लोकबाजाहरुको संरक्षणका लागि सामाजिक रुपमा नै जागरण सुरू भएपछि लोकबाजाहरु बजाउने र सो को संरक्षणका लागि युवा पिढीहरु नै अगाडि सरेका छन् ।
नेपाली लोकबाजाहरु बजाउने बुढापाकाहरुसँग रहेका सनाही, दमाहा, ट्याम्को, नरसिंहा, कर्नाल, झ्याली लगायतका बाजाहरुलाई मर्मत सम्भार गरेर उनीहरूबाट नयाँ पिढीले नेपाली मौलिक संस्कृतिका लोकबाजाहरु बजाउने र सँगसँगै नाच्ने अभियानको थालनी भएपछि समाजमा रहेका बुढापाकाहरूले पनि यस अभियानबाट सन्तुष्ट भएको बताएका छन् ।
यस वर्षको हिउँद महिना लागेसँगै लोकबाजा संरक्षण अभियानअन्तर्गत सामाजिक शुभकार्यहरुमा पश्चिमेली संस्कृतिको अनुशरण बन्द गर्ने आह्वानका साथ नेपाली मौलिक लोकबाजा बजाउने कार्यलाई बिबाह, ब्रतबन्ध, धार्मिक पर्व र साँस्कृतिक उत्सवहरुमा अनिवार्य गरिएको हो ।
पश्चिमेली बाजाहरुको तुलनामा नेपाली लोकलय र मौलिकतामा बजाईने लोकबाजाहरु बजाउँदा मूल्य पनि सस्तो र बालकदेखि बुढापाकाहरुले सम्म मन पराउने भएपछि ग्रामिण समाजदेखि शहर बजारमा समेत नेपाली लोकलयमा आधारित लोकबाजाहरु लोकप्रिय समेत बन्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्