१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काभ्रेको दुर्गम डाँडापारी क्षेत्र उज्यालो बन्दै


442
Shares

काभ्रे । काभ्रेपालञ्चाेकको दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा नेपाल विद्युत्त प्राधिकरणको केन्द्रीय प्रसारण लाइन विस्तारको कार्य भइरहेको छ । यससँगै महाभारत र खानिखोला गाउँपालिकाका करिव ६ हजार घरधुरी झलमल्ल हुने भएका छन् ।

लघु जलविद्युत, सोलार तथा अन्य बैकल्पिक उपायबाट दैनिकी चलाउँदै आएका स्थानीयले अब केन्द्रीय प्रसारण लाइनको विद्युत उपभोग गर्न पाउने छन् ।

महाभारत गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा पुस महिनाबाट बत्ति बाल्ने गरी कार्य अघि बढाइएको छ । यस्तै वडा नम्बर १, २ र ८ मा शाखा विस्तारको काम भइरहेको छ । डाँडापारी क्षेत्रलाई विद्युतको उज्यालो पुर्‍याउने अभियानमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ गरेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

उक्त रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भएको छ । महाभारत गाउँपालिकाले मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको छ । यहि वर्ष भित्र सबै घरमा विजुली बत्ति बालिसक्ने गरी गाउँपालिकाले योजना अघि बढाएको छ ।

यस्तै, खानीखोला गाउँपालिकामा भने विद्युतको काम सुस्त देखिएको खानीखोला गाउँपालिकाका पूर्व जनप्रतिनिधि समेत रहनुभएका स्थानीय मान बहादुर गोलेले बताउनुभयो ।

केन्द्रीय प्रसारण लाईन नभएका कारण महाभारत र खानीखोलामा उद्योग कलकारखाना सञ्चालन हुन सकेका छैनन् भने इन्टरनेट तथा मोवाइल नेटवर्कमा पनि समस्या देखिने गरेको छ ।