
म्याग्दी । म्याग्दीमा खेती योग्य जग्गाहरू बाँझो हुन थालेका छन् ।
रोजगारी खोज्दै विदेशिनेहरुको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेती योग्य जग्गाहरू बाँझै हुन थालेका हुन् । गाउँका युवाहरु विदेशिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव भएपछि खेती योग्य जग्गा बाँझै भएको हाे । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा बाँझै छाडेका छन् ।
गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्तिको अभाव हुने गरेको छ। बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जग्गा बाँझै रहेको कृषि प्राविधिकहरुको भनाइ छ ।
बेनी नगरपालिका २ बगर फाँटमा मात्रै २६ हेक्टर भन्दा बढी जग्गा बाँझै रहेको स्थानीय चित्रबहादुर रिजालले बताउनुभयो । आफ्नै जग्गा भएपनि बाँझो राखेर सदरमुकामदेखि खाद्यन्न सामग्री खरिद गर्ने क्रम बढ्दै गएको छ । युवाहरु पनि खेतीपाती छाडेर व्यापार-व्यवसाय गर्न थालेका छन् । ग्रामीण क्षेत्रका खेतीयोग्य जग्गा जनशक्ति अभावकै कारण बाँझाे बस्न थालेकाे हो ।
भोगचलन गर्दै आएको खेती योग्य जग्गा बाँझाे बस्दै गएको छ भने घरहरु जीर्ण भएर भत्कन थालेका छन्। खेतीयोग्य जग्गालाई पल्टिङ गर्ने क्रम बढेसँगै जग्गा बाँझाे हुँदै गएको छ । खेतीयोग्य जग्गाहरु बाँझाे हुन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्य वृद्धिमा समेत बढ्दै गएको छ ।
प्रत्येक वर्ष खेतीयोग्य जग्गा बाँझाे बस्ने क्रम १५ प्रतिशतले बढ्दै गएको कृषि प्राविधिकको भनाइ रहेकाे छ।
प्रतिक्रिया दिनुहोस्