२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन


117
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो । २०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका तोक्ने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गर्दै वर्तमान सरकारले मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानीमा स्थापना गरेको छ । राजधानीमा रहेको कार्यालयबाट कामकाजसमेत सुरु भएको छ ।

१३ मन्त्रालयमध्ये राजधानी परिसरभित्र ६ वटा मन्त्रालय, मुख्यमन्त्री निवास, प्रमुख सचिवको निवाससमेत स्थापना गरिएको छ । अबको केही हप्ताभित्र महत्वपूर्ण मन्त्रालय, निर्देशनालय र विभाग राजधानी क्षेत्रमा स्थापना हुने प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयको उद्घाटन गर्दैै प्रदेश प्रमुखले राजधानीले विकासमा पछाडि परेको देउखुरीलाई मात्रै नभइ समग्र प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले समग्र देशकै नेतृत्व गरेको बताउनुभयो ।

राजधानी कार्यान्वयनसँगै प्रदेशको निसान छापमा राजधानीको नाम राप्ती उपत्यका देउखुरी लेखिने उहाँले जानकारी दिनुभयो । यही मंसिर १९ गते बुटवलबाट मुख्यमन्त्री कार्यालय राजधानी क्षेत्रमा सारिएको थियो ।