२१ चैत्र २०८१, बिहिबार | Fri Apr 4 2025


सत्तामा पुगेपछि भाषण गरेको थलो नै बिर्से नेताले


676
Shares

काठमाडौं । स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको आज ६७ वर्ष पूरा भएको छ । नेपालले आफ्नै मौलिक भाषा, कला संस्कृति, रञ्जना लिपी र नेपाल संवत लगायतका कारण आज कै दिन राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो । साँस्कृतिक परम्परा कै कुरा गर्दा दबू संस्कृति पनि एक अभिन्न अगं हो । जसको पुनः उत्थानमा काठमाडौं महानगरले पहल सुरु गरेको छ ।

दबू अर्थात डबली हाम्रो मौलिक प्राचिन साँस्कृतिक परम्परागत विरासत हो । हाम्रा पुर्खाले सार्वजनिक गतिविधि गर्ने बाटो र चोकहरुमा केही फिट अग्लो दबू बनाएका थिए । जहाँ परम्परागत नाच, नाटक, साँस्कृतिक र धार्मिक गतिविधि मात्र होइन जनचेतना जगाउन सामाजिक कार्य गरिन्छ ।

यहाँ सर्वसाधारण घाम ताप्ने देखि आराम गर्ने सम्म दैनिक जनजीवनको अन्य क्रियाकलाप समेत हुने गर्दछ । पछिल्लो समय त राजनैतिक भाषणबाजीको थलो समेत बनेको छ दबू । तर राजनैतिक भाषणबाजीबाट सत्तामा पुगेपछि दबूको संरक्षण गर्नु पर्छ भन्ने हेक्का भने नेताहरुमा देखिदैन ।

संरक्षणको अभावमा धेरै दबू अतिक्रमणमा परेका छन् भने दबूको अस्तित्व समेत नामेट हुँदै गएको छ । यस्तो पुरातात्विक र ऐतिहासिक दबूको अध्ययन अनुसन्धान हुन सकेको छैन । समुदायस्तरमा यसको संरक्षणको प्रयास नभएको पनि होईन । पाशुपत क्षेत्रको प्राचिन बत्सलेश्वरी दबूमा नागेचा प्याखँ लगायत साँस्कृतिक प्रस्तुति गर्दा यहाँका वासिन्दा कम खुसी भएनन् ।

कुमारी घरका चिताइदार गौतम रत्न शाक्य सार्वजनिक स्थान दबू नेपालको पहिचान भएको बताउनुहुन्छ । उहाँले हरेक डबलीमा आफ्नो पहिचान छ र त्यसको संरक्षणमा सवै लाग्नुपर्ने बताउनुहुन्छ । ईतिहास भएको पनि बताउनुहुन्छ ।

आधुनिक विकाससँगै सार्वजनिक स्थानको अभाव र अतिक्रमण भएपछि दबूको महत्व र आवश्यकता झन बढेको छ । काठमाडौंको नयाँ सडक बनाउँदा मासिएको वंघः दबू समेत ९० वर्ष पछि सडक कै तहमा पुनर्निर्माण पनि नभएको भने होइन् । सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धी तुलाधर दबुलाई बचाउन अति आवश्यक रहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ म विकास विरोधी ट्याग भिर्न तयार छु तर साँस्कृतिक शहर सम्पदामैत्री हुनुपर्छ ।

महानगर दिवसको अवसरमा काठमाडौं महानगरले पनि दबूको संरक्षणको पहल सुरु गरेको छ । जुन सकारात्मक छ । दबू हाम्रो मौलिक सभ्यताको उपज हो । तसर्थ यीनको संरक्षण सहित सांस्कृतिक शहरलाई व्यवस्थित गर्न आवश्यक भइसकेको छ ।