
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका कृषकहरूले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।
धान, गहुँ र मकै बालीको विकल्पमा यहाँका कृषकहरूले खेतका गह्रामा व्यवसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्न बाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरूहरूले बताएका छन् । केही वर्ष अघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ ।
अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यवसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक दुर्गाबहादुर थापाले बताउनुभयो । कृषक थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केरा खेती गर्नुभएको हो । उहाँले भन्नुभयो,- ‘खेती गर्न झन्झ टिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको हुँ।’
यहाँका सबै कृषकहरूले केरा खेती गरेका छन् । गाउँको करिब २० हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । अबको दुई वर्षपछि बगरफाँट केराफाँटमा परिणत हुने भएको छ । करिब २० जना कृषकहरूले बगैँचा नै बनाएर व्यवसायिक केरा खेती गरेका छन् । १०–१५ घरी केरा नलगाएको घर नै छैन । दुर्गाबहादुर थापा, खिमबहादुर कार्की, इन्दिरा शर्मा, अम्बिका शर्मा, सरिता शर्मा, चन्द्रबहादुर घिमिरे, कृष्णप्रसाद रिजाल र भीमबहादुर कार्की लगायतका कृषकहरूले धान फल्ने खेतमा नै केरा खेती विस्तार गरेका छन् ।
मजदुर अभावमा खाद्य बाली हुने जमिन बाझाे बस्न थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको खबराका अर्का कृषक शोभित शर्माले बताउनुभयाे । यहाँका कृषकहरूले करिब ५ हजार केराका विरुवा लगाएका छन् । पकाएको प्रति १२ कोसा १ सय रूपैयाँकाे दरले बिक्री हुने गरेको छ । एउटै घरीबाट १ हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन्। विरुवा लगाएको डेढ वर्षमै उत्पादन लिन सकिन्छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केरा खेतीका लागि अनुकूल मानिन्छ । बेनी नजिकै भएकाले कृषकहरूलाई बजारको समस्या छैन ।
बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्