१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चर्को ब्याज लिने लघुवित्त संस्था विरूद्ध सेवाग्राही आन्दोलित


52
Shares

कैलाली । कैलालीमा लघुवित्त संस्थाले चर्को ब्याज असुलेको भन्दै सेवाग्राही आन्दोलित भएका छन् ।

ऋणको चर्को ब्याज तिर्न नसकेर उठिवास हुने अवस्था आएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । साेही संस्थाहरुले गरिरहेको काम कारवाहीका बारेमा नियमन निकायका साथै स्थानीय तहहरुले समेत बेवास्ता गरेकाे सेवाग्राहीकाे तर्क छ ।

कैलालीको गौरीगंगा नगरपालिका क्षेत्रमा रहेका लघुवित्त तथा वित्तीय संस्थाहरुले चर्को ब्याज लिन थालेपछि यहाँका सेवाग्राही आन्दोलित भएका छन् । ऋणको चर्को ब्याज तिर्न नसकेर उठिवास हुने अवस्था आएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । १८ प्रतिशतसम्म ब्याज लिने गरेका कारण घरजग्गा गुम्ने अवस्था आएको, कतिपयले आत्महत्या गरेको र कतिपय भारत पलायन हुन थालेको सेवाग्राहीले बताएका छन् ।

एक वर्षका लागि लिइएको ऋण सो अवधि भन्दा पहिले चुक्ता गर्दा पनि वर्षभरीकै ब्याज लिने गरेको सेवाग्राहीको भनाइ छ । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर गौरीगंगामा एक महिलाले आत्महत्या गरिसकेकी छन् । अरुको पनि घरजग्गा लिलामी भएर उठिवास हुने अवस्था आएको उनीहरु बताउँछन् ।

गौरीगंगा क्षेत्रमा कार्यालय स्थापना गरेर बसेका फवार्ड माईक्रो फाइनान्स, किसान बहुउद्देश्यीय, युनिक नेपाल, छिमेकी लगायतका लघुवित्त तथा वित्तीय संस्थाहरुले गाउँ–गाउँमा पुगेर महिला समूहहरु गठन गरी ऋण लगानी गर्दै आएको स्थानीय वासुदेवी सुनार, मोती दमाई, सुवास कुँवर, ईन्द्रकला कुँवर र टेकराज ढुंगानाको भनाइ छ ।

यता, लघुवित्त तथा वित्तीय संस्थाहरुले भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रहेर समुदायमा लगानी गर्ने गरेको बताउँछन् । राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रहेर कर्जामा साढे १३ देखि १५ प्रतिशतसम्म र बचतमा ६ देखि साढे ७ प्रतिशतसम्म ब्याज लिने-दिने गरिएको फरवार्ड माइक्रो फाईनान्सका प्रमुख गोमती जोरा र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख हरिप्रसाद जोशीको दावी छ ।

लघुवित्त तथा वित्तिय संस्थाहरुले गरिरहेको काम कारवाहीका बारेमा नियमन निकायका साथै स्थानीय तहहरुले पनि बेवास्ता गरेकाे सेवाग्राहीहरूकाे तर्क छ । जसका कारण आफूहरु थप पीडामा परेको बताउँदै सेवाग्राहीले सरोकारवाला निकायलाई यसतर्फ ध्यान दिन आग्रह समेत गरेका छन् ।