७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ठूलो परिणाममा लागुऔषध बरामद, ६ जना पक्राउ


156
Shares

सुनसरी । प्रहरीले सुनसरीमा ठूलो परिणाममा लागु औषध बरामद र लागु औषध कारोबारमा संलग्न ६ जना कारोबारीलाई पक्राउ गरेको छ ।

बुधबार राति खटिएको इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले गोप्य सूचनाको आधारमा धरान ३ स्थित सदन रोड, १४ को विजयपुर र धरान ५ को देउरालीका तीन स्थानमा प्रहरीको टोली परिचालन गरि छापा मार्दा ६ जना कारोबारीसहित ठूलो परिणामको लागु औषध बरामद गरिएको बताउनुभयो ।

पक्राउ पर्नेमा धरान ३ का ३४ वर्षिय मन्त्री उपनामका मनकुमार श्रेष्ठ, धरान ५ का २६ वषिय अमन राई, धरान १४ का २१ वर्षिय रञ्जित तामाङ, १९ वर्षिय नेल्शन याख्या, २० वर्षिय शाहिल भण्डारी र १९ वर्षिय शेखर परियार रहेको उहाँले बताउनुभयो ।

प्रहरी टोलीले धरान ३ स्थित सदन रोडमा मनकुमारको कोठाबाट फेनेरगन, ३२ एम्पुल, डाईजेपाम ३९ एम्पुल, लुपिजेसिक ३९ एम्पुल र एभिल ४५ एम्पुल बरामद गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । त्यस्तै, ट्रामाडोल एकहजार ट्याब्लेट, स्पास्पेइन एकहजार ५ सय ट्याब्लेट बरामद गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, धरान ५ देउरानली स्थित अमन राईको घरबाट लागुऔषध ५ हजार ३९ ट्याब्लेट ट्रामाडोल, २ हजार ६ सय ४०ट्याब्लेट स्पास्पेइन बरामद गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । धरान १४ का रञ्जित तामाङको घरबाट २ सय ४० ट्याब्लेट स्पास्पेइन र २ सय ५० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको उहाँले बताउनुभयो । त्यस्तै, भण्डारी, याक्खा र परिवारको साथबाट ८ ट्याब्लेट स्पास्पेइन र ८० ट्याब्लेठ ट्रामाडोल बरामद गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका ६ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ परेका ६ जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।