
काठमाडौं । पुरातन राजनीतिक संस्कार र दर्शन बोकेका नेतृत्वबाट काठमाडौंबासीका आशा, आकांक्षा पूरा नभएपछि मतदाताले स्वतन्त्र उम्मेदवारलाई राजधानी शहरको तालाचाभी सुम्पिए । नयाँ नेतृत्व आएको ८ महिना पुग्दा आश र त्रासका इन्द्रेणी देखिएका छन् ।
देशको राजधानी काठमाडौं । काठमाडौंमा पानी परेपछि अरु ७६ जिल्लाले छाता ओढ्ने प्रचलन राजनीतिमा नौलो होइन । मुलुक संघीय गणतन्त्रमा गएपछि राजनीतिक अधिकार विकेन्द्रीकरण हुने विश्वास हुँदा हुँदै पनि देशको आर्थिक, सामाजिक, राजनीतिक शक्ति बाहिरिन नसकेको गुनासो व्याप्त छ ।
करिब २ हजार वर्ष पुरानो इतिहास बोकेको काठमाडौं शहर व्यवस्थित बनाउने उद्देश्यले राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९७६ मा सफाई अड्डाका रुपमा काठमाडौं महानगरको स्थापना गरेका थिए । हाल मुलुकमा रहेका ६ वटा महानगरमध्ये काठमाडौं महानगरपालिका सबैभन्दा पुरानो अनि जनसंख्याका आधारमा सर्वाधिक ठूलो महानगर पनि हो ।
सांस्कृतिक सम्पदाको संग्रहालय मानिने काठमाडौंको बहुआयामिक पक्ष सबल बनाउने उद्देश्यमा राजनीतिक दलहरुले अपेक्षित सफलता प्राप्त गर्न सकेका थिएनन् । महानगरपालिकामा नयाँ नेतृत्व परिवर्तनसँगै दशकौंदेखि टाउको दुखाईको विषय बनेको फोहोर व्यवस्थापनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्यो । स्थानीय र महानगरपालिको जुहारीका कारण फोहोर ब्यबस्थापन गर्न रोक लगाएको फाहोर व्यवस्थापनका लागि सिसडोल ल्याण्डफिल्ड साइटबाट बन्चरे डाँडामा सारिएता पनि दीर्घकालीन रुपमा महानगरले अघि सारेका योजनामा सुस्तता देखिन्छ ।
उत्पादनस्थलमै फोहोर वर्गीकरण गर्ने सामान्यभन्दा सामान्य काममा महानगरले अझै सफलता पाउन सकेको छैन । महानगरभित्रका अनाधिकृत संरचना भत्काउन नसकेको अवस्थामा नयाँ नेतृत्वले रातारात त्यस्ता संरचना भत्काएर काठमाडौंको पार्किङ समस्या निप्टारा लाउने प्रयासले वाहीवाही कमायो । त्यसैगरी बागमती सभ्यता जोगाउन नदी किनारमा रहेका सुकुम्बासी बस्ती व्यवस्थित गर्न कदम अघि बढाएको महानगरको योजना सरकरी निकायकै समन्वय नहुँदा बीचैमा पूर्णविराम लाग्यो । यी सबै योजना कार्यान्वयनका लागि महानगर सरकार र जनताको साथ चाहिने बताउँछन् ।
महानगरपालिकाको कार्यशैली प्रति आम नेपालीले कामले गति लिइरहेको बताउँछन् । पाँच वर्षसम्म केहि परिवर्तन हुने महानगरबासीको बुझाई छ ।
सुन्दर हराभरा अनि व्यबस्थित शहर बनाउने उद्देश्यसाथ महानगरपालिकाले थुप्रै योजना त सार्वजनिक गरेको छ तर सुधारका कामलाई क्षणिक बनाउने पुरानो रोगमा सुधार आउन सकेको छैन् । त्यसमाथि इच्छाशक्तिभन्दा सस्तो लोकप्रियताका लागि काम गर्ने रोगले राजनीतिलाई बदनाम बनाउँदै लगेको छ ।
प्रतिक्रिया दिनुहोस्