
सिन्धुली । सिन्धुलीमा फापर खेती फस्टाउदै गएकाे छ ।
सिंचाई आवश्यक पर्ने सुख्खा खेत बारीहरुमा समेत राम्रोसँग फल्ने र मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापर खेती फस्टाएकाे हाे । विगत वर्षहरुको तुलनामा यसपाली फापर फस्टाएपछि सिन्धुलीका फापर खेती गर्ने किसानहरुको आम्दानी बढ्ने देखिएको छ ।
फापर छर्ने समय भाद्र, असोज र कार्तिक महिना र फापरको फूल फुप्ने समय कार्तिकदेखि मंसिर महिनामा अनुकूल मौसम भएका कारणले फापर उत्पादनका लागि पर्याप्त फाइदा पुगेको किसानहरुले बताएका छन् । सिन्धुलीका अधिकांश बारी र सिंचाई नहुने तथा सुख्खा टारी खेतहरुमा लगाईएको मिठे र तिते लगायतका स्थानीय जातका फापर बालीको दाना समेत राम्रैसँग लागेपछि फापर खेती गर्ने किसानहरु खुशी भएका हुन् ।
नेपाली हावा पानीमा पाईने अन्य अन्न बालीहरुको तुलनामा फापर बालीका लागि धेरै मेहनत पनि गर्न नपर्ने र गोडमेलको झन्झट समेत नहुने भएकाले धान र गहुँको तुलनामा फापर खेती गर्नका लागि किसानहरुले सजिलो मान्दै आएका छन् । फापरको प्रयोगबाट ग्रामीण क्षेत्रमा किसानहरुले परम्परागत रुपमा रोटी र ढिडो जस्ता परिकारहरु तयार गरेर खाने गरेका छन् । साथै पछिल्लो समयमा शहर बजार क्षेत्रमा समेत ठूला होटल र फास्टफुडहरुमा सम्भ्रान्तहरुले फापरको ढिडो र रोटी जस्ता परिकारहरु खान मन पराउने प्रचलन समेत सुरु भएपछि फापरको माग नेपाली बजारमा एक्कासी बढेको हो ।
फापरको पिठो मानव स्वास्थ्यका लागि उपयोगी हुने मात्र होईन फापरको छवाली घाँस घर पालुवा गाई भैंसीहरुका लागि पोष्टिक मानिने र फापरको भुसपनि खेर नजाने भएकाले फापरको खेती किसानहरुले मन पर्ने खेती समेत मानिने गरेको हो ।फापरको पिठो गहुँ, मकै, कोदो र चामलको पिठोमा मिसाएर रोटी-ढिडो लगायतका विभिन्न परिकारहरु बनाएर खाने चल्न समेत सुरु भएका कारण फापरको पिठो प्रतिकिलो २ सयदेखि ३ सय सम्ममा बिक्री वितरण हुँदै आएको छ । फापरको पिठो विभिन्न खालका औषधिहरुमा समेत प्रयोग गरिन थालेपछि ग्रामीण क्षेत्रमा केही समय यता फापरको उत्पादन र खपत समेत बढेर गएको छ ।
पहाडमा प्रति रोपनी १ सय ५० केजी र भित्री तराईमा प्रति कठ्ठा ८० केजीको तुलनामा उत्पादन हुने फापर प्रति किलो १ सय ५० देखि २ सय रूपैयाँसम्म बिक्री वितरण हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्