१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लैङ्गिक विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्न हुँदैन : अध्यक्ष हुमागाईं


221
Shares

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र विज्ञापन बोर्ड नेपालले ललितपुरमा शुक्रबार गरेको छलफलमा सरोकारवालाहरुले विज्ञापनलाई लैङ्गिक संवेदनशील र उत्तरदायी बनाउन जोड दिएका हुन् ।

विज्ञापनको असर समाजिक मनोविज्ञानमा धेरै लामोसम्म रहने भएकाले विज्ञापनको अवधारणा बनाउने र निर्माणमा धेरै मेहनत गर्नुपर्नेमा जोड दिइएको छ ।

बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईंले महिला र पुरुषबीचमा विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्न नहुने बताउनुभयो । उहाँले आगामी दिनमा बोर्डले विज्ञापनको विषयवस्तुलाई सेन्सर गर्ने स्पष्ट पार्नुभयो ।

युएनडिपीका सञ्चारप्रमुख कमलराज सिग्देलले संयुक्त राष्ट्रसंघले विश्वभरी प्रशारण हुने विज्ञापन लैङ्गिक संवेदनशील होस् भनेर काम गरिरहेको बताउनुभयो । विज्ञापनलाई लैङ्गिक जवाफदेही बनाउन समाजका सबै पक्षले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले युएनडिपी नेपाली विज्ञापन बजारसँग काम गर्न इच्छुक रहेको पनि बताउनुभयो ।