
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको छ ।
सोमबार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको हो ।
उहाँले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताउनुभयो । उहाँले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पार्नुभयो । अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताउनुभयो । उहाँले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको बताउनुभयो । उहाँले आगामी दिनमा सतर्कतापूर्वक अगाडी बढ्दै पार्टीलाई पहिलो बनाउने बताउनुभयो । उहाँले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गर्नुभयो । पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उहाँले जनताको मन भने जितेको बताउनुभयो । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गर्नुभयो ।
अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिनुभयो । दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उहाँले त्यस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिनुभयो ।
उहाँले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताउनुभयो । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उहाँको भनाई छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्