१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुका १० पालिकामा अझै सञ्चालनमा आएन डम्पिङ साइट


169
Shares

सुशील गैरे

काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अव्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गरेको भन्दै नगरवासीले विरोध गरेका छन् । फोहोर नष्ट गर्ने तरीका र थुपारिएको फोहोरमा आगो लगाएर वातावरण प्रदूषित बनेसँगै बाणगंगामा फोहोर व्यवस्थापनको विषयमा गम्भीर बहस सुरु भएको छ ।

कपिलवस्तुका १० पालिकामध्ये अहिलेसम्म कुनैमा पनि फोहोर प्रशोधन गर्ने डम्पिङग साइट सञ्चालनमा आएको छैन् । शहरबजार गाउँबस्तीबाट उठाइएको फोहोरलाई जङगल, नदि किनार र बाटोको किनारमा लगेर थुपार्ने बाहेक अरु खासै उल्लेखनीय प्रगति हुन सकेको छैन ।

पहिलो कार्यकालमा फोहर व्यवस्थापन गर्न असफल पालिकाले वैशाख ३० गते नयाँ जनप्रतिनिधि पाएपनि यसबारे ठोस निर्णय गरेको छैन । यता वाणगंगाले फोहोर संकलन गर्न एक निजी कम्पनीलाई जिम्मा दिएको छ । त्यसयता केही काम पनि भएका छन् तर पछिल्लो पटक थुपारिएको फोहोरमा आगजनी भएपछि यसको जिम्मा कसैले लिएन । ठेक्का दिनु अघिदेखि नै नगरपालिका भरीको फोहर बाणगंगा नदी पुलनजिक डम्पिङ हुने गरेको थियो ।

त्यही फोहोरमा केही दिनअघि राती आगजनी भएपछि राजमार्ग क्षेत्र र टोलबस्ती प्रदूषणको चपेटोमा पर्‍यो । जसबाट सुरु भयो फोहोर माथिको आरोप प्रत्यारोप । बाणगंगा– ८ का स्थानीय डिआर न्यौपानेले पहिला देखिको फोहोर उचित व्यवस्थापन हुन नसक्दा र कसले आगो लगायो स्पष्ट नहुँदा नगरपालिकामाथि स्थानीयले आरोप लगाएको बताउनुहुन्छ ।

गत बुधबार फोहोरको ठूलो थुप्रोमाथि एक्कासी आगो लागेपछि वडा नम्बर १ र ८ जोड्ने बाणगंगा पुल वरिपरिको वायुमण्डल प्रदूषित भयो भने त्यसले स्कुल, कलेज जाने विद्यार्थीदेखि स्थानीयलाई समेत प्रभावित पार्‍यो । नगरपालिकाको इच्छा शक्तिको अभावले गर्दा फोहोर व्यवस्थापन हुन नसकेको सिद्धार्थ क्याम्पसका प्रध्यापक रमेशचन्द्र भुषाल बताउनुहुन्छ ।

फोहोर व्यवस्थापन स्थानीय सरकारको निम्ति चुनौतिको विषय भएको छ । यो चुनौति सामाना गर्न फोहोरलाई प्रशोधन गर्ने र फोहोबाट मोहोर निकाल्ने योजना कार्यान्वयनमा ल्याउन जरुरी छ । कपिलवस्तुको बाणगंगाले मात्रै होइन लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये खास गरि तराईका पालिकाले फोहोर व्यवस्थापन र प्रशोधनको समस्या झेल्दै आएको भुषाल बताउनुहुन्छ ।

स्थानीय सरकारले फोहोर प्रशोधन गर्ने र त्यसलाई वैकल्पिक ऊर्जाको रुपमा प्रयोग गर्न अग्रसरता नदेखाएका कारण देशका विभिन्न गाउँ शहरमा लामो समयसम्म फोहोर थुप्रिने समस्या दोहोरिने गरेको छ । तर नगरवासीले यस्तो अवस्थाको अविलम्व अन्त्य खोजेका छन् ।