१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीको बेनीमा सार्वजनिक जग्गा अतिक्रमण


26
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका सार्वजनिक जग्गा, पुल, सडक, खोल्सा र गुठी जग्गा अतिक्रमणमा परेका छन् ।

कतै सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाइएका हुन् । कतै जग्गा मिचेर व्यक्तिगत प्रयोजनमा ल्याइएको छ ।
बेनी नगरपालिका–२ हाडेभिरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाएका छन् । खाद्य संस्थानबाट किनेकाे जग्गा र बेनी नगरपालिकालाई दिएको चार आना जग्गाको भवन समेत व्यक्तिको कब्जामा रहेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिए पनि गलेश्वरको रिभरसाइड होटल र हाडे भीरमा कुलदीप जुग्जालीले मोटरेबल पुल अतिक्रमण गरेर बनाएको टहरा हटाउन बेवास्ता भएको छ।

बेनीको क्याम्पसचोक र कालीपुल क्षेत्रका अधिकांश घर सार्वजनिक जग्गामा बनेका छन् । बेनी अस्पतालको जग्गा मिचेर न्यू वेष्ट प्वाइन्ट आवासीय माविले सडक बनाएको छ । कालीपुलस्थित बालमन्दिर आधारभूतको जग्गा र नगरपालिका भवन पछाडिको जग्गा सुकुम्वासी र अव्यवस्थित बसोवासीको नाममा अतिक्रमण भएको छ । पर्वत–बेनी जोड्ने झोलुङ्गे पुल र न्यूरोड पछाडिको प्रकाश माविको जग्गा पनि अतिक्रमण भएको छ । स्थानीवासी कुलदीप जुग्जालीले खेर गएको जमिन नगरपालिकालाई भाडा तिरेर संरक्षण गरेको बताउनुभयाे ।

बेनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुने बित्तिकै नगर क्षेत्रको सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्ने निर्णय गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना हटाउन गरेको निर्देशन तथा फैसला कागजमै सीमित भएको छ । बेनीबजारमा सडकको क्षेत्राधिकारमा निर्माण भएका संरचना हटाउन प्रशासन, सुरक्षा निकाय र नगरपालिकाको टोलीले नाप जाँच तथा हटाउन अनुरोध गर्दै घरदैलो गरेका थिए ।

पछिल्लो समय बेनी नगरपालिकाले त्यस्ता संरचना हटाउन ३५ दिने सूचना समेत जारी गरेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयाे ।