१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


सुन्धारा परिसरमा फेरि डोजर चल्यो


572
Shares

काठमाडौं । नेपाल कै कान्छो ऐतिहासिक लुँ हिति सुन्धारा परिसरमा महानगरको आदेश विपरित फेरि डोजर चलाएर काम गरेको पाइएको छ ।

केहि दिन अघि सुन्धारा परिसरमा डोजर चलाएर पुरातात्विक महत्वको सयौं वर्ष पुरानो अग्राख काठको नाल र भूमिगत पानीको संरचना नष्ट भएको थियो । यसको चौर्तर्फी विरोध भएपछि काठमाडौं महानगका प्रमुख बालेन्द्र शाह आफैं निर्माणस्थल पुगी निर्माण स्थगन गर्न आदेश दिनुभएको थियो । तर यसका बाबजूद ठेकेदारले डोजर चलाएर काम गरिरहेको पाइएको हो ।

यस सम्वन्धी बारम्बार समाचार प्रशारण गर्दै आएको ईमेज च्यानलको टोली मंगलबार यसक्षेत्रमा फलोअप गर्न पुग्दा धमाधम निर्माण भैरहेको पाइएको हो । कामदारहरुले भने जस्तापाता राखेर माटो खस्न मात्र रोकेको दावी गरेका छन् । पुरातात्विक महत्व बोकेको सुन्धाराको संरचना विगारेको विरोधमा स्थानीय वासिन्दा र क्लबहरु समेत आन्दोलित हुँदै आएका छन् ।

संकटा क्लब, भूलां सुधार समिति, खिचापोखरी युथ क्लब, त्वाः छें परिवार क्लव, साधारण क्लब र पाको युथ क्लबले लुँ हितिलाई बचाउन आग्रह गरेका छन् । उनीहरुले पहिले सम्पदा बचाउन र पछि मात्र अन्य निमार्णकार्य गर्नु पर्ने बताएका छन् । नभए थप संघर्ष गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् । हितिको मौलिक स्वरुपमा निर्माण र पुरानो धरहराको समेत संरक्षण गर्नुपर्नमा उनीहरुले जोड दिएका छन् ।