
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताउनुभएको छ ।
मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस, माओवादी, समाजवादी, नेकपा एमाले सहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताउनुभयो ।
उहाँले प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्नु नहुने बताउनुभयो । उहाँले आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वतः हुँदै जाने बताउनुभयो । उपसभापति खड्काले संसदीय दलको नेतामा सभापति देउवालाई जिताउन पनि युवा सांसदहरुसँग आग्रह गर्नुभयो ।
उपसभापति खड्काले अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्