१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


म्याग्दीमा व्यवसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित


78
Shares

म्याग्दी । म्याग्दीमा व्यवसायिक रूपमा लगाइएको केरा खेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला, मालिकाका विभिन्न स्थानमा लगाइएकाे केरा खेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिक रूपमा गरिएको केराखे तीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् ।

केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषकका केराका बोट नपसाउँदै सुक्न थालेका छन् । करिब १५ रोपनीको जग्गामा व्यावसायिक केराखेती गरेका बगरफाँटका कृषक सविन कार्कीले व्यावसायिक केरा खेतीमा रोग र किराको प्रकोप देखिएपछि समस्या भएको गुनासो गर्नुभयाे ।

उहाँले डढुवा, गबारो, खपटे घुनको प्रकोपबाट पसाएका केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, पहेँलो हुने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा नै सङ्कटमा पर्न थालेको बताउनुभयाे । केरा खेतीमा रोग लागेको गुनासो लिएर पटक-पटक कृषि ज्ञान केन्द्रमा जाँदा समेत कृषि प्राविधिकहरुले वास्ता नगरेको कार्कीको भनाइ छ ।

यहाँका कृषकहरूले व्यावसायिक रूपमा केरा तथा फलफूल खेती गरेका कृषकलाई वडा, नगरपालिका र सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने माग गर्दै आएका छन् ।