१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सुनकोशी मरिण आयोजनाको सुरूङ निर्माण तीव्र गतिमा


182
Shares

सिन्धुली । सिन्धुलीमा निर्माण भइरहेको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ ।

सुरूङ निर्माणका लागि टनेल बोरिङ मेसिन टिविएमले सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारबाट १ हजार ६ सय मिटर कटिङ गरेको हाे । कुनै भौगर्भिक समस्या नआए तोकिएको समयमै सुरूङ निर्माण सम्पन्न हुने सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक मित्र बरालले बताउनु भएको छ ।

सुनकोशी मरिण आयोजनाको सुरूङभित्र प्रयोग गरिने सेगमेन्ट करिब २ हजारको हाराहारीमा प्रयोग भइसकेको उहाँले बताउनुभयाे । सुरूङमा ५७ हजार सेग्मेन्टको प्रयोग हुने उहाँकाे भनाइ छ । चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम गरिरहेको उहाँले बताउनुभयाे । कन्सल्टेन्टमा जेड कन्सल्र्ट प्रा.लि रहेको छ ।
सुनकोशी मरिण आयोजनाले २२ महिनामा टनेल खनिसक्ने लक्ष्य लिएको छ । १३ दशमलव ३ किलोमिटर सुरूङ खनेर सुनकोशी गाउँपालिकाको कानढुंग्रे नजिक सुनकोशी नदिमा निकालिने जनाएकाे छ ।

गत असोज २८ गतेबाट साेही आयोजनाको सुरुङ खन्ने काम सुरु भएको थियो । सुरुङ ५ दशमलव ५ डायमिटर पानी बग्ने भाग रहने गरी ६ दशमलव ६ डायमिटरको सुरुङ खनिएको छ । आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्र र डुवान क्षेत्रमा जग्गा अधिग्रहण र मुआब्जा वितरण लगायतका प्राविधिक सबै काम सकिएको छ ।

सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोशी नदीको पानी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ काे कुसुमटारस्थित मरिण खोलामा खसालिने भएकाे छ । आयोजनाबाट ३१ मेगावाट विद्युत् उत्पादन गरिने भएकाे छ । उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ । सुनकोशी मरिण आयोजनाको निर्माण अवधि ५ वर्षकाे रहेको छ ।

सोही आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्लाहरू बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाई सुविधा पुर्याउने रहेकाे छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अन्य संरचना निर्माण गर्न करिब ३० अर्ब रुपैयाँ लाग्ने जनाइएकाे छ ।