
काठमाडौं । सरकारले समयमै मूल्य नतोक्दा उखु किसान मारमा परेका छन् ।
किसानले उखु क्रसिङ सुरु गरिसक्दा पनि सरकार मूल्य तोक्न अलमल गरेको छ ।
उखु क्रसिङ सकेर हिउँदे बाली लगाउने चटारोमा रहेका किसान मूल्य बिना उखु क्रसिङ गर्न बाध्य भएका छन् ।
किसानले मंसिरको दोस्रो सातादेखि नै उखु क्रसिङ गर्न थालिसकेका सर्लाहीका उखु किसान राकेश यादवले बताउनुभयो । बारीमै उखु सुक्न थाल्ने अवस्था आएपछि बाध्य भएर विनामूल्य किसानले चिनी मिलमा ढुवानी गर्न थालेको उहाँले बताउनुभयो ।
सरकारले गत वर्ष उखुको बिक्री मूल्य ५९० रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो । जसमा ५२० रुपैयाँ चिनी उद्योगीबाट र ७० रुपैयाँ सरकारी अनुदान दिइएको थियो । कृषि मन्त्रालयका अनुसार गत वर्ष अनुदानबापतको रकम साउनसम्ममा गरी ७६ करोड रुपैयाँ पठाएको थियो ।
यसपटक समयमै अनुदानबापतको रकम पठाउने तयारी भइरहेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो । यसअघि २०७७/०७८ मा उखुको बिक्री मूल्य पाँच सय ४४ रुपैयाँ ३३ पैसा थियो ।
किसान प्रतिनिधिले भने पछिल्लो केही वर्षमा बढेको चिनीको मूल्यका आधारमा उखु किसानको उखुको मूल्य तोक्नुपर्ने माग गरिरहेका छन् । आर्थिक वर्ष ०७७/०७८ मा नेपालमा ३१ लाख ६० हजार मेट्रिकटन उखु उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बारीमै उखु सुक्ने अवस्था आएपछि बाध्य भएर मूल्य तोकिनुअगावै उखु क्रसिङका लागि ढुवानी गर्न बाध्य भएको गुनासो गर्नुभयो । चिनी उद्योगबाट उखु पेल्न हतार भएको भन्दै दबाब आएको अवस्थामा हतारिएर क्रसिङ गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्