
काठमाडौं । मुलुककै सबैभन्दा पूरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको जवर्जस्त प्रयास हुन थालेको छ । गत वर्ष मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनदेखि सुरु रुपान्तरण र पुस्तान्तरणको मुद्दा संसदीय दलको निर्वाचनसम्म आईपुग्दा थप सशक्त देखिन थालेको छ । कांग्रेसभित्र यो मुद्दाले तत्काल मूर्त रुप पाउन नसके पनि समयको बेगसँगै असम्भव भने देखिंदैन ।
बुधबार सम्पन्न पार्टीको संसदीय दलको नेतामा मुलुकको राजनीतिमा विगत ३० वर्षदेखि राष्ट्रिय राजनीतिमा राज गर्दै आउनुभएका पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभयो । तर, यसपटक देउवाको प्रतिस्पर्धा पार्टीका आफ्नै उमेरका नेताहरुसँग भएन । देउवाले संसदीय दलको चुनावमा आफूभन्दा उमेरले ३२ वर्ष कम उमेरका पार्टी महामन्त्री गगन थापासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो ।
देउवा प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बर बढी मतले निर्वाचित भएपनि पुराना नेताको पार्टीको रुपमा आलोचना खेप्दै आएको कांग्रेसमा बुधबारको चुनाव राजनीतिक दृष्ट्रिले सानोतिनो परिर्वतनको संकेत भने होइन । रुपान्तरण र पुस्तान्तरणकै नाराका साथ संसदीय दलको चुनाव लड्नुभएका महामन्त्री थापाले आगामी दिनमा पार्टीमा युवा पुस्ताको जवरजस्त हस्तक्षेप हुने संकेत गर्नुभएको छ ।
१४ औं महाधिवेनशनमा फरक खेमामा रहेपनि एजेण्डाका कारण एउटै कित्तामा महामन्त्री थापासँगै उभिनुभएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि पार्टीमा परिर्वतनको खाँचो औंल्याएर विगतजस्तो मनपरि नचल्ने बताउनुभयो ।
हुन त कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत स्थानीय समितिको निर्वाचनदेखि नै रुपान्तरण र पुस्तान्तरणको छनक देखिन थालेको थियो । महाधिवेशनमा युवा प्रतिनिधिको प्रभाव नेतृत्व चयनमा स्पष्ट देखियो । पार्टीको मुख्य नेतृत्व कब्जा गर्न नसकेपनि उपसभापति, महामन्त्री लगायतका महत्वपूर्ण पदमा पुराना पुस्ताका नेतालाई पराजित गर्दै युवा पुस्ताका नेताहरुको उदय भयो ।निर्वाचित केन्द्रीय समितिमा युवाहरुको उपस्थिति हेर्न लायक छ ।
महाधिवेशनको केहि समयपछि गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि टिकट वितरणदेखि नै युवाहरुको हस्तक्षपकारी भूमिका देखियो । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणदेखि निर्वाचितको संख्या हेर्दा कांग्रेसमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिका निर्णायक हुन नसकेपनि प्रभाव भने बढ्दो क्रममा छ ।
पछिल्ला दिनहरुमा कांग्रसभित्र राजनीतिमा रुपान्तरण र पुस्तान्तरणको एजेण्डा झन् बलियो बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्