२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागमती प्रदेशसभा सदस्यहरुको शपथ पुस १४ गते


39
Shares

काठमाडौं । बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण यही पुस १४ गते हुने भएको छ ।

प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको हो ।

प्रदेशसभाका सदस्यहरुको शपथका लागि प्रदेशसभा सचिवालय हेटौंडामा आवश्यक व्यवस्थापन मिलाउने गरी बैठकले निर्णय गरेको छ ।

बैठकले पुस १३ गतेका लागि प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम गर्ने निर्णय गरेको छ । जेष्ठ सदस्यको शपथ पश्चात अरु १०९ जना सांसदहरुलाई शपथ ग्रहण गराइने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।

जेष्ठ सदस्यको रुपमा नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले १३ गते प्रदेश प्रमुखसमक्ष शपथ ग्रहण गर्ने बताइएको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको संसदीय समिति गठन लगायतका कार्यक्रम रहेकाले त्यसलाई प्रभाव नपर्ने गरी संसदको कार्यक्रम तयार गरिएको मन्त्री खनालले बताउनुभयो । प्रदेश प्रमुख कार्यालयसँगको सहकार्यमा सरकारले प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय बैठकले निर्णय गरेको हो ।

प्रदेशसभाको पहिलो बैठक बस्नु अघि कार्यव्यवस्था समितिको औपचारिक बैठक बस्ने र उक्त बैठकले प्रदेशसभाको पहिलो बैठकको कार्यसूची तयार गर्ने छ । जेष्ठ सदस्य ढुंगानाले प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्ने दलहरुबीच सहमति भएको छ ।