
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गर्नुभएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले नेपाली जनताको चाहना मुलुकमा तीव्र विकास होस् भन्ने भएको बताउँदै अहिले जीवनस्तरमा सुधार हुनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक सुरक्षा र सामाजिक न्याय नागरिकको मूल लक्ष्य भएकाले यो कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा भन्दै उहाँले राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको ठूलो भूमिका हुने बताउनुभयो । उहाँले अहिलेको प्रविधिको विकासले अवसर मात्र होइन चुनौति पनि थपेको बताउँदै सूचनाको हक लोकतन्त्रमा अनिवार्य रहेको बताउनुभयो ।
राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड छ । उहाँले पत्रकारिताको मर्यादामा ख्याल गर्न समेत सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् । दुई दिन चल्ने साधारणसभामा राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्