७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


डोको बुनेर जीविका चलाउँदै म्याग्दीका दुई वृद्ध


663
Shares

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जाका धनबहादुर बिक र टेकबहादुर बिकको परिवार कामको खोजिमा बेनी झरेको ३ वर्ष भएकाे छ ।

अहिले यि दुवै जनाका परिवार बेनी नगरपालिका-२ बगरफाँटमा जग्गा भाडामा लिएर टहरो बनाइ डोको बुनेर बिक्री गरेर आएको पैसाले गुजारा चलाउँदै आएका हुन् । ७१ वर्षीय धनबहादुरले आफू जान्ने भएदेखि अहिलेसम्मको उमेरमा डोको बुनेरै जीविकाेपार्जन गरेकाे बताउनुभयाे। जीवनका अनेकौं घामपानी भोगेका धनबहादुर अहिले डाँडामाथिको घाम जस्तै कति बेला अस्ताउने हो पत्तै छैन । तर, उहाँको जागर र जोँस भने १६–१७ वर्षे लक्का जवानको जस्तो देखिन्छ ।

घरको पीडिमा बसेर नाति-नातीनीहरु खेलाउँदै छोरा र बुहारीको कमाई खाने बेलामा चोयाँसँग खेल्दै डोका बुन्न व्यस्त धनबहादुर डोको बुन्ने सीप नै आफ्नो बुढेसकालको सहारा भएको बताउनुहुन्छ । उहाँले भन्नुभयाे,-‘के गर्नु हजुर ! छोरा बुहारीले हेरेनन्, सम्पत्ति छैन, बसेर खान पुग्दैन, त्यसैले यो उमेरमा पनि डोको बुनेर गुजारा चलाउन बाध्य छु ।’

सोही ठाउँमा डोको बुन्दै गर्नुभएका ६९ वर्षीय टेकबहादुरको पनि अवस्था उस्तै रहेकाे छ । उहाँले १२ वर्षको उमेरमा डोको बुन्न सिकेको सीप नै जीवन जिउने आधार बनेको बताउनुहुन्छ । देशमा भएको राजनीतिक परिवर्तनले दुवै जनाको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेन उनीहरूकाे तर्क छ ।

दलितको नाममा आउने अनुदान र सहयोग अहिलेसम्म आफूहरुले पाउन नसकेको बताउने धनबहादुरले डोको बुन्ने सीप नै आफ्नो लागि मुख्य आधार भएको गुनासो गर्नुहुन्छ । उहाँले एउटा डोको ३ सयदेखि ५ सय सम्ममा बिक्री गर्दै आउनुभएको छ। उहाँले भन्नुभयाे-,’अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहकहरु खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँमा जानुपर्छ। ‘

उहाँले आफ्नो हातमा सीप र काम गर्न सक्ने अवस्था रहुन्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताउनुहुन्छु । उहाँले भन्नुभयाे-,’अहिलेसम्म यसैबाट जीविका चलाएको छु, अब कति नै बाँचुला र ? बाँचुन्जेलसम्म जीउ सन्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु ।’ हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बुढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेसा नै बनेको उहाँको भनाइ छ ।

डोको बुनेर आएको पैसाले दैनिक घर खर्च चलाउने र आफ्नी श्रीमतीको औषधि उपचारमा खर्च गर्ने गरेको टेकबहादुरले बताउनुभयो । छोरा बुहारीले नहेरेपछि यहि डोको बुनेर श्रीमती र आफू पालिएकाे उहाँकाे भनाइ छ । बाध्यताले गर्दा जीवनको अन्तिम समयसम्म पनि डोको बुनेर बेच्नु पर्ने अवस्था भएकाे उहाँकाे तर्क छ ।

ग्रामीण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका भने गाउँगाउँसम्म पुर्याउन सकेमा बिक्री गर्नका लागि कुनै समस्या नभएकाे उहाँले बताउनुभयाे ।