५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


स्याङ्जामा देउसी-भैलो खेलेकाे पैसाले वृद्धवृद्धालाई खाद्यान्न वितरण


39
Shares

स्याङ्जा । स्याङ्जा ब्युटि पार्लर एसाेसिएशनले तिहारमा देउसी भैलो खेलेर जम्मा भएकाे रकमबाट आश्रमका वृद्ध-वृद्धा र अति विपन्न परिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेकाे छ ।

एसोसिएशनका वालिङ नगरपालिकाका सदस्यहरुले तिहारमा देउसी भैलो खेलेर जम्मा भएकाे १ लाख ४० हजार रकमबाट उनीहरुलाई सहयोग गरिएको हो । वालिङमा रहेका २८ जना ब्युटिसियनहरुले भैलो खेलेर सोही रकम जम्मा गरेका थिए।ब्युटिसियन पेशामा आवद्ध महिलाहरुलाई समाजमा हेर्ने नजर अझै पनि सकारात्मक नरहेको भन्दै त्यसलाई परिवर्तन गर्न आफूहरुले सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको ब्युटि पार्लर एसोसिएशन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालले बताउनुभयाे। उहाँले शहरमा भन्दा गाउँमा यो पेशामा संलग्न भएका महिलाहरुलाई हेर्ने नजर परिर्वतन गर्न आफूहरुको ध्यान गएको बताउनुभयो ।

एसोसिएशनले चापकोट नगरपालिका-६ केलादीघाटमा रहेको राधा दामोदर मन्दिरको वृद्धाश्रममा आएका ३० जना महिला र २ जना पुरुष जेष्ठ नागरिकलाई १ लाख बराबरको सामग्री वितरण गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । त्यस्तै सोही वडाका ४ जना अतिविपन्न दलित समुदायका परिवारलाई समेत ४० हजार बराबरको खाद्यान्न र न्यानो कपडा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष पनि रामनदीधाम राम्दीमा बस्दै आएका वृद्धवृद्धालाई सहयोग गरेको जानकारी गराउदै अध्यक्ष अर्यालले पेशासँगै सामाजिक कार्यलाई समेत निरन्तर जोडिरहेको जानकारी गराउनुभयो । ब्युटि पार्लर एसोसिएशनको सकारात्मक कार्यमा सहयोगी बन्दै वालिङ नगरपालिकाका प्रवक्ता पदमराज गुरुङले आश्रमका वृद्धवृद्धा र अति विपन्न परिवारलाई न्यानो कपाडा र खाद्यान्न हस्तान्तरण गर्नुभएकाे थियाे ।

उहाँले साेही सामग्री हस्तान्तरण गरेपछि आफ्नो पेशा तथा व्यवसायसँगै सामाजिक कार्यलाई निरन्तरता दिनु उदाहरणीय कार्य भएको बताउनुभयो ।