
म्याग्दी । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार म्याग्दीका पशुपालक कृषकहरूका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रदेश सरकारले पशुपालन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका क्रममा उक्त रकम कृषकलाई सहयोग गरेको हाे।म्याग्दीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा कृषकलाई लक्षित गरेर पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । विदेशिने युवालाई स्वदेशमै रोकेर स्वरोजगार बनाउन तथा आर्थिक विकास गर्ने उद्देश्यका साथ युवा लक्षित कार्यक्रमलाई जोड दिइएको हो ।
स्वदेशमा केही काम पाइएन भन्दै विदेशिने वा विदेशबाट फर्किएका युवा कृषकहरुलाई लक्षित गरेर म्याग्दीमा स्वरोजगारमूलक विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । युवालाई स्वदेशमै रोजगारको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउन पशुपालनका कार्यक्रमलाई प्रदेश सरकारले जोड दिइएको छ । प्रदेश सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालयमार्फत म्याग्दीमा सबै भन्दा धेरै ६४ लाख रुपैयाँको लागतमा साना व्यवसायी फार्म स्थापना तथा विस्तार गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी ५१ लाख ४० हजार रुपैयाँको लागतमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग, ४० लाख रुपैयाँको लागतमा पशुपक्षी बिमा कार्यक्रम, ३० लाख रुपैयाँको लागतमा भैँसी विकास र आमयान्त्रिकरण कार्यक्रम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । त्यस्तै कोरोना भाइरस (कोभिड–१९) राहततर्फ युवा कृषकलाई ५० प्रतिशत अनुदानमा कुखुरा पालन कार्यक्रम पनि सञ्चाल नगरिएको छ ।
पशुपालन व्यवसाय वृद्धि गर्न र उत्पादन बढाउनका लागि डेरी तथा मासु पसल सुधार, पुराना पोखरी मर्मत सम्भार, माछाका भुरा वितरण, पाडापाडी हुर्काउने तथा हिउँदे र वर्षे घाँस उत्पादनको बीउबिजन सहयोग गर्ने जस्ता कार्यक्रमहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्