१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रवि लामिछाने सहितको पार्टी बालकोटमा


1.534k
Shares

काठमाडौं । मुलुकको राजनीतिक परिदृष्य एकाएक मोडिएको छ ।

कांग्रेस सहितको पाँच दलीय गठबन्धन धरापमा परेपछि नेकपा एमालेले सरकार गठनको पहल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरु गरेको हो ।

गठबन्धनको बैठकमा दाहाललाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिने अडान वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राखेपछि गठबन्धनको औचित्य नरहेको भन्दै आइबार बिहान कांग्रेससँग सहमति नभएपछि दाहाल बालुवाटारबाट बाहिरिनु भएको थियो । खासगरी देउवा र दाहालबीच आलोपालो प्रधानमन्त्रीमा पहिलो कार्यकाल सरकारको नेतृत्व कसले गर्ने भन्नेमा कुरा मिल्न नसकेको हो । दाहालले पहिलो पालो आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दै आउनु भएको छ भने देउवाले पनि आफू नै पहिलो पालो प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दै आउनु भएको छ । देउवाले धोका दिएको दाहालको आरोप छ । त्यसपछि दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको बालकोट पुग्नु भएको हो ।

बालकोट छलफलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अशोक राई बालकोटमा छलफलमा छन् । माओवादीले गठबन्धन तोडेर आए सरकार निर्माणका लागि छलफल गर्ने एमालेको तयारी रहँदै आएको थियो ।

एमालेले पहिलो कार्यकाल दाहाललाई दिँदै राष्ट्रपति आफूले राख्ने प्रस्ताव राख्दै आएको छ । सरकार निर्माणमा बहुमत पुर्‍याउन १ सय ३८ संख्या आवश्यक छ । एमालेसँगको छलफलमा सहमति जुटे सरकार निर्माणमा यो गठबन्धनको १ सय ५६ संख्या पुग्छ ।

संसदमा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४ र जसपाको १२ सिट छ ।