
काठमाडौं । राजनीतिमा स्थिर शत्रु, मित्र हुँदैन भन्ने तथ्य नेपालको राजनीतिमा फेरि एक पटक प्रमाणित भएको छ । बाम एकताको नारासहित ०७४ सालको निर्वाचनमा होमिएका नेपालका दुई ठूला बाम घटक एमाले र माओवादी पानीबाराबारको सम्बन्ध गुज्रिदै फेरि सहकार्यमा जुटेका छन् ।
एउटै पार्टी बनाएर सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको इतिहास बनाएका यी दुई पार्टीको एउटै बाटो लामो समय तय हुन सकेन् । पार्टीभित्रको आन्तरिक विवाद तथा सत्ता उन्मादले अन्ततः पार्टीमा फूट मात्र आएन्, सरकारको नेतृत्वमा नै परिवर्तन आयो । पूर्व एमालेबाट माधव नेपालसहितका असन्तुष्ट पक्ष बाहिरिँदा माओवादी केन्द्रसहितले नेपाली कांग्रेसलाई सत्ताको ताला चाभी सुम्पिए ।
पाँच दलीय गठबन्धनको सरकारले आम निर्वाचन सम्पन्न गरायो । गठबन्धन गराएर सबैभन्दा ठूलो लाभ नेपाली कांग्रेसले नै लियो । अघिल्लो निर्वाचनमा गुमाएको साखलाई पुनः जागृत गरेको कांग्रेसलाई यो पटक गठबन्धन बचाएर लैजाँदा केन्द्रदेखि प्रदेशसम्म सत्ताको लाभ थियो । तर, राजनीति सधै कहाँ सिधा बाटो हिँड्छ र ? लाभको आधारमा गरिने साठगाँठले आज फेरि नेपालको राजनीतिमा नयाँ घटना जन्माइदिएको छ । जसबाट कत्तिले हातमै आएको अवसर गुमाएका छन् भने कसैले नसोचेको अवसर पाउँदैछन् ।
नयाँ सरकार गठनका लागि आइतवार दिनभरको दौडधुपमा पनि केही दलले राम्रै अवसर पाउँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै गुमाएको छ । माओवादी र एमालेले राम्रै लाभ प्राप्त गरेको दिन नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले भने नसोचेको गुमाएका छन् । बिहानसम्म नेपाली कांग्रेससँग थुप्रै पद थिए र हुनेवाला थिए । माओवादीलाई प्रधानमन्त्री दिएको भए राष्ट्रपतिसहित उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये केही पद पाउँथ्यो । यस्तै, प्रदेशमा पनि उसलाई राम्रो लाभ थियो । १० सिट भएको एकीकृत समाजवादीले पनि केही पदमा दाबी गरेको थियो ।
आइतबार दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष दाहाल गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोट पुग्नुभयो, तब कांग्रेससँग केही पनि रहेन । अब कांग्रेसले ठूलो दलको हैसियतामा पाउने लाभ गुमाएको छ । छैटौं पटक प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको सपना तुहिएको छ । अनी राजनीतिको उत्तरार्धमा राष्ट्रपति बन्ने रामचन्द्र पौडेलको इच्छामा अंकुश लागेको छ ।
यसले कांग्रेसभित्रको आन्तरिक विवाद झन चर्किने छ । गठबन्धन परिवर्तनले माओवादी केन्द्रको आडमा आफ्नो राजनैतिक यात्रा तय गरेको एकिकृत समाजवादीलाई संकटले घेर्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्