२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अनपेक्षित शक्ति आर्जनमा ओली सफल


4.043k
Shares

काठमाडौं । संसद विघटनको मुद्दाले जन्मिएको नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकार गठनको मुद्दाले फुटेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपनि कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको थियो । तर, आफूविरुद्ध गठबन्धन जन्माउन मुख्य भूमिका निर्वाह गरेका पात्रलाई नै प्रयोग गरेर एमाले अध्यक्ष ओली गठबन्धन भत्काउने आफ्नो मिसन पूरा गर्न सफल हुनुभएको छ ।

आफू सत्ताबाट बर्हिगमन भएदेखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एक मात्र मिसन थियो कांग्रेस नेतृत्वको गठबन्धन फुटाउने । अध्यक्ष ओलीको गठबन्धन फुटाउने पहिलो प्रयास थियो एमसीसी । तर, सदनबाट एमसिसि पारित गर्न सत्ता गठबन्धनमा ठूलो विवाद भएपनि गठबन्धन फुटबाट भने जोगियो । उक्त प्रयासमा असफल भएपछि ओलीले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अघि पनि गठबन्धन फुटाउने दोस्रो असफल प्रयास गर्नुभयो ।

गठबन्धन भत्काउन ओलीले विभिन्न राजनीतिक पासा फाक्नुभयो । आफ्नो दोस्रो प्रयास पनि असफल भएपछि केही निरास देखिनुभएका ओलीले हार भने खानुभएन । स्थानीय तह निर्वाचनपछि पनि पटक–पटक सत्तागठबन्धन फुटाउने प्रयासलाई ओलीले निरन्तरता दिनुभयो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटाउने भरमग्दुर प्रयास गर्नुभएका ओलीले सफलता हासिल भने हात पार्न सक्नुभएन । आफ्नो मिसन सफल पार्न निरन्तर डटेर लाग्नुभएका ओली नयाँ सरकार गठन गर्ने विषयमा सत्ता गठबन्धनभित्रको विवादलाई क्यास गर्न सफल हुनुभयो ।

यहि दाउ हेरिएको एमालेलाई गठबन्धनबाट माओवादी बाहिरिनु ढुंगा खोज्दा देउता मिले जस्तै भयो । पाँच दलीय गठनन्धन फुट्नुमा गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस मुख्य जिम्मेवार देखिएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भावी सरकारको नेतृत्व आफुले पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको अडान छोडेन ।

सरकारको नेतृत्व पाउने अवस्था नरहेपछि माओवादी गठबन्धनबाट बाहिरियो र एमालेसँग गठबन्धन गरेर सरकारको नेतृत्व लिन सफल भएको छ । नेतृत्वको अहं र राजनैतिक कमजोरीको कारण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनकै सहयोगमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता र शक्तिबाट सम्पूर्ण रुपमा बाहिर भएको छ ।

नयाँ प्रतिनिधि सभा र प्रदेशसभा गठन भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुखलगायतका पदमा नयाँ व्यक्ति निर्वाचित हुन्छन् । अब प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत पुर्‍याउने एमाले गठबन्धनकै दलहरुले ती पद आपसमा भागवण्डा हुने छ । नेतृत्वको अक्षमताले सम्पूर्ण सत्ता गुमाएको भन्दै कांग्रेसका नेताहरूले आक्रोश पोख्न थालेका छन् ।