२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नयाँ सरकार गठन प्रक्रियालाई सहजतापूर्वक लिनुपर्छ : गृहमन्त्री खाँण


884
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई भेटमा बोल्दै नेपाली कांग्रेस नेता समेत रहनुभएका गृहमन्त्री खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताउनुभयो ।

उहाँले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । मन्त्री खाँणले सरकार भनेको सरकारकै निरन्तरता भएकाले नयाँ सरकारलाई पनि सहयोग गर्न कर्मचारीहरुलाई पनि सचेत गराउनुभयो ।

गृहमन्त्री खाँणले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहेपनि फरक नपर्ने अनुभूति समेत सुनाउनुभयो । प्र्र्र्र्रधानमन्त्री कार्यालयमा रहेको सो विभागलाई गृह मन्त्रालय मातहत ल्याउन अझै पनि दवाव परिरहेका बेला उहाँले भने जहाँ रहेपनि फरक नपर्ने प्रतिक्रिया दिनुभएको हो ।

गृहमन्त्री खाँणले सो विभागले आवश्यक परेका सबै सूचनाहरु दिएकाले पनि आफूले जता भएपनि भिन्नता महसुस गर्नु नपरेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औंल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पनि पटकपटक दोहोर्‍याउनुभयो । उहाँले मध्यरातमा आफूले मन्त्रालयमा बसेर काम गरेको र त्यसमा सबै कर्मचारीहरुले सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

विपद् व्यवस्थापन, मन्त्रीपरिषद्का लागि आवश्यक प्रस्ताव तयार पार्न र शान्ति सुरक्षाको व्यवस्थापन गर्न आफू र मन्त्रालयका पदाधिकारीहरुले मध्यरातमा पनि मन्त्रालयमा बसेर काम गर्नु परेको मन्त्री खाँणको भनाई थियो । उहाँले आफूलाई मन्त्रीको रुपमा सबैले सहयोग गरेको उल्लेख गर्दै मन्त्रालयका सबै कर्मचारीहरुप्रति आभार समेत व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाँणले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गर्नु भएको थियो । त्यसलाई सफलतापूर्वक संचालन गरेको उहाँको दावी थियो । खासगरी स्थानीय तहको निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुशी रहेको गृहमन्त्री खाँणले बताउनुभयो ।