३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


अर्थतन्त्र सुधारोन्मुख अवस्थामा : अर्थमन्त्री शर्मा


559
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ ।

सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको हो ।

उहाँले पछिल्लो एक वर्षमा रुस-युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको भन्दै त्यसका सुधार हुँदै आएको बताउनुभयो । उहाँले बाह्य कारणले नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको बताउनुभयो । उहाँले आयातमा प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने चाप रहेको बताउनुभयो ।

उहाँले राजश्व कमी हुँदा चुनौति यथावत रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले बित्त र मौद्रिक नीतिबीच सन्तुलन चाहिने बताउनुभयो । उहाँले ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको बताउनुभयो ।

उहाँले शोधनान्तर स्थिति २० अर्बले वचतमा रहेको जानकारी गराउँदै विप्रेषण आप्रवाहमा समेत सुधार भएको बताउनुभयो । उहाँले विदेशी मुद्राको सञ्चितिमा समेत सुधार भएकाले बताउनुभयो । उहाँले अर्थतन्त्रलाई ठूलाठूला परिघटनाबाट परेको प्रभावबाट बचाउँदै अगाडि बढाउन सफल भएको दाबी गर्नुभयो ।

अर्थमन्त्री शर्माले अब सरकारको पुँजीगत खर्च बढ्ने बताउनुभयो । उहाँले चुनाव लगायतका कारण पुँजीगत खर्च धेरै नभए पनि अब बढ्ने दाबी गर्नुभयो । उहाँले १ खर्ब रुपैयाँ बराबरको विभिन्न परियोजनाहरुको टेन्डर भइसकेको बताउनुभयो । मन्त्री शर्माले सरकारले ४ खर्ब बराबरको भुक्तानी गर्ने दायित्व बाँकी रहेको बताउनुभयो । उहाँले भुक्तानी गर्ने दायित्व सबै प्रक्रिया शुरु भएकाले पनि पुँजीगत खर्च बढ्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको ६ महिनामा कुल खर्च २५.२६ प्रतिशत जसमा चालु खर्च ३१.७४ प्रतिशत र पुँजीगत १०.१७ प्रतिशत भएको बताउनुभयो ।

उहाँले आर्थिक ०७९/०८० को बजेटमा धेरै विषय अगाडि सारिएको बताउँदै नेपालको कृषि क्षेत्रको रुपान्तरणमा विशेष जोड दिइएको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर बजेटमा सोहीअनुसार ध्यान दिएको दाबी गर्नुभयो ।