२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्व बैंकले दियो बागलुङ नगरपालिकालाई सहयोग


208
Shares

काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले चार वटा सडक कालोपत्र गर्न अनुदान पाउने भएको छ ।

उक्त बैंकले उपलब्ध गराएको ऋणमध्ये नेपाल सरकारले यहाँको भौतिक पूर्वाधार विकासका लागि ५८ करोड अनुदानस्वरुप दिने भएको हो । प्राप्त हुने रकममध्ये तीन करोडको लागतमा सबै सडकको डीपीआर बनाइने र ५५ करोडबाट पूर्वाधारको काम गरिने छ ।

वडा नं–१ रामरेखास्थित गणेशथान घुम्तीदेखि निरयघाटसम्मको सडक, वडा नं–४ को ओढारचौरदेखि ढोडेनीसम्म पुग्ने सडक, वडा नं–७ को मूलपानी माध्यामिक विद्यालयबाट भीमपोखारा जोड्ने सडक र वडा नं–१४ को बलेवा विमानस्थलदेखि पैँयूपाटा हुँदै अमलाचौरको भैरवस्थानसम्म पुग्ने सडक कालोपत्र गरिने भएको हो ।

सबै सडक डीपीआरको चरणमा रहेको र डीपीआर लगत्तै ठेक्का प्रक्रियामा लैजाने नगरपालिकाको योजना छ । साना योजना एक्लैले सम्पन्न गर्दै आएको नगरपालिकाले ठूला योजनाका लागि प्रदेश तथा संघीय सरकाबाट ऋण वा अनुदानका लागि पहल गर्दै आएकामा अहिले सहरी शासकीय सुधार कार्यक्रमअन्तर्गत विश्व बैंकबाट आएको ऋणमध्ये नेपाल सरकारले यहाँको पूर्वाधार निर्माणमा ५८ करोड अनुदानमा उपलब्ध गराउने सम्झौता गत वर्ष नै भएको थियो ।

नगरको विकासका लागि ठूला योजना ल्याए पनि बजेट अभावले केही योजना अगाडि बढ्न सकेका थिएनन् । नगरपालिकाका अनुसार आएको अनुदान रकम सडक, भवन, खानेपानी, सिँचाइ तथा पर्यटन पूर्वाधारमा मात्रै खर्च गर्न मिल्ने भए पनि पक्की सडकको अभाव भएकाले सडक निर्माणमै बजेट खर्चिने नगरपालिकाले निर्णय गरेको छ । पाँच वर्षभित्र सक्ने गरी पूर्वाधार विकासमा ७० प्रतिशत र सुशासनमा ३० प्रतिशतमा खर्च गर्नुपर्ने शर्त रहेको नगरपालिको भनाइ छ ।