
काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको मुलुकको अर्थतन्त्रको चुनौतिलाई समाधान गर्ने बताउनुभएको छ ।
सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले चुनौतिको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकावालाहरु सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले चुनौतिपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी सामाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्तित नलिन आग्रह गर्नुभयो ।
उहाँले अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरु केके हुन र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारहरुसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा पूरा गर्ने बताउनुभयो । उहाँले अर्थलाई सबल बनाउन मन्त्रालयका सबै सकारात्मक प्रयासमा सहयोग गर्नका लागि रचनात्मक सल्लाह सुझाव दिनको लागि सबैसँग आग्रह समेत गर्नुभयो । उहाँले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको पदबहाली गर्दै सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गर्नुभएको छ । उहाँले अर्थ मन्त्रालय अन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा हाल रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्