
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको छ ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको हो ।
उहाँले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गर्नुभयो । उहाँले जनताले कानूनसम्मत रहेका कुनैपनि कामलाई भनसुन नगरीकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यस्तै, जनताको अपेक्षा अनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोही अनुसार आफूले काम गर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्