
काठमाडौं । आय–व्ययबीच असन्तुलनले राज्यकोष प्रशासनिक खर्च धान्नसमेत कठिन रहेको अवस्थामा माओवादी नेतृत्वमा गठबन्धन सरकार बनेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई मितव्ययी बन्ने, दीर्घकालीन खर्च घटाउने मात्र नभई कर्मचारीलाई सहज ढंगले तलब र पेन्सनको सुनिश्चिततासँगै जनताका नाना, खाना र छानाको आकांक्षालाई एकसाथ सम्बोधन गर्नुपर्ने दायित्व छ ।
माओवादीकै अर्थमन्त्री भएको समयमा ओरालो लागेका आर्थिक सूचकहरू उठाउन यो सरकारलाई सहज छैन । आम्दानीभन्दा खर्चको दबाब रहेको सरकारमाथि कर्मचारीलाई नियमित तलब खुवाउनसमेच चिन्ता गर्नुपर्ने दवावमा सरकार छ । वित्तीय स्थितिमा सुधार नआए अबको दुई महिनापछि तलबसमेत खुवाउन सरकारलाई हम्मे पर्ने अवस्था रहेको सरकारी अधिकारीले दुखेसो पोख्ने गरेका छन् ।
यो वर्ष ३१ प्रतिशतसम्म राजस्व बढ्ने अनुमान गरिए पनि गतवर्षकै बराबरको राजस्व उठाउन सक्ने स्थिति छैन । ऋणकै भरमा तलब ख्वाउनुपर्ने अवस्था आउने देखिन्छ । सरकारले ३१ प्रतिशत राजस्व बढाउने लक्ष्यसहित बजेट निर्माण गर्दा पुसको दोस्रो साताको लगभगमा आउँदा गत वर्षभन्दा २१ प्रतिशतले राजस्व खस्किएको छ । गत पुस ९ गतेसम्म ४ खर्ब ३१ अर्बको राजस्व उठेकोमा चालु आर्थिक वर्षमा ३ खर्ब ३१ अर्ब रुपैयाँमा खुम्चिएको छ ।
एउटा स्मरण गर्नुपर्ने विषय के छ भने, नेपालको ४८ वर्षको राजस्व इतिहासमा अघिल्लो वर्षको तुलनामा राजस्व घटेको कुनै पनि वर्ष छैन । यो वर्षमा भने घट्ने निश्चित रहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । वैदेशिक सहायता र अन्य स्रोतबाट प्राप्त आयसमेत जोड्दा सरकारले चालु खर्च धान्न सकेको छैन । यसबाहेक अहिलेसम्म खर्च गरेको ३ खर्ब ८६ अर्ब पुँजीगत खर्च र ५५ अर्ब वित्तीय व्यवस्थापनको खर्चसमेत गरी ४ खर्ब ४१ अर्ब थप खर्च गरेकोमा यसमध्ये ३० अर्ब रुपैयाँ ऋण उठाएको छ । अन्य रकम भने गत वर्षको मौज्दातबाट चलाएको देखिन्छ ।
खर्च धान्न नसक्ने अवस्थामा सरकार पुगेको अवस्थामा निजी क्षेत्र देशभर आन्दोलित छ । कतै चालु पुँजी कर्जा मार्गदर्शन लागू गर्नु हुँदैन भन्ने सवालमा, कतै ब्याजदर बढी भएको भन्ने सवालमा । आन्दोलन मात्रै होइन, धेरै साना तथा मझौला उद्योग बन्द भएका छन्, ठूला उद्योग क्षमताको ४५ प्रतिशत क्षमतामा चल्न सकेका छैनन् । ७० प्रतिशत उद्योगी नयाँ लगानी थप्न नसक्ने अवस्थामा पुगेका छन् । निजी क्षेत्र आन्दोलित छ । यस्तो वित्तीय प्रतिकूल अवस्थामा बनेको सरकारका लागि सिंहदरबारको यात्रा सिंहमाथिकै सवारीसरह चुनौतिपूर्ण हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्