
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताउनुभएको छ ।
नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताउनुभएको हो ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि उहाँले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले अबको सरकारले सुशासन कायम गर्नेपनि बताउनुभयो । उहाँले राहदानी, लाइसेनमा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चाँडै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको पनि बताउनुभयो । प्रधानमन्त्री दाहालले गम्भीर रुपले देश र जनताका समस्याहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आउनुभएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पार्नुभयो । सोमबार अपरान्ह प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गर्नुभएको थियो ।
त्यस्तै, मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्