२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म्याग्दीमा ३ हजार मानिस कृषिबाट आत्मनिर्भर, वार्षिक ४७ करोड आम्दानी


91
Shares

म्याग्दी । नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन सकिएकाे छैन् ।

तर म्याग्दीका एक दर्जन बढी गाउँका ३ हजार भन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका हुन् । चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगंगा, मालिका, मंगला, धौलागिरी गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँहरुका ३ हजार भन्दा बढी जनता फसल उत्पादन र व्यवसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

लाहुरेहरुको जिल्ला भनेर चिनिएको म्याग्दीले पछिल्लो समय उद्यमी र कृषकहरुको जिल्ला भनेर आफ्नो परिचय दिएको छ। २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८ सय ५६ हेक्टर जमिन मात्र खेती योग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । १ लाख १३ हजार ६ सय ४१ जनसंख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसंख्या पूर्ण रुपमा कृषिमा आश्रित रहेको भएपनि उनीहरुले व्यावसायिकरुपमा उत्पादन गर्न सकेका छैनन् । ७ प्रतिशत जनताले व्यावसायिकरुपमा नै कृषि पेशा अंगालेर मनग्य कमाई गर्न सफल भएका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाको हिस्तान दोसल्ले, राम्चे, मंगला गाउँपालिकाको बाबियाचौर, अर्मन, बरंजा, कुँहु, धौलागिरी गाउँपालिकाको ताकम, मालिका गाउँपलिकाको बिम, दरबाङ, ओखरबोट, रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेग, झीँ, पात्लेखेत, बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली र सिंगा लगायतका गाउँहरुका अधिकाँश जनता कृषिबाट नै आत्मनिर्भर बन्नुका साथै विदेशमा भन्दा राम्रो कमाई गर्न सफल भएका सम्बन्धित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।

साेही गाउँमा व्यवसायिक रुपमा तरकारी र फलफूल खेती गरिएको छ । तरकारीमा आलु, गोलभेडा, साग, लहरे प्रजातिका तरकारीहरु बढी उत्पादन हुने गरेका छन् । जिल्लाका दोसल्ले, बरंजा, बिम, भकिम्ली, राखु र बास्कुना लगायतका गाउँमा सुन्ताला बेचेर नै वार्षिक रुपमा ५ करोड रूपैयाँ भन्दा बढी जिल्लामा भित्रिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

त्यसैगरी बेनी नगरपालिका वडा नम्बर २ खवराको एउटै गाउँमा केरा बेचेर मात्र गत वर्ष ५० लाख भन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयाे । म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक ४७ करोड भन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख गरिएकाे छ ।