
तेह्रथुम । तेह्रथुमको लाली गुराँस नगरपालकाले अर्गानिक खेतीमा जोड दिएको छ ।
रासायनिक मलको प्रयोग गरी खेती गर्ने होड चलिरहेका बेला नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल गरिएको हो । नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज तेह्रथुमले नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन अभियान सुरु गरेपछि किसानहरु पनि उत्साहित भएका छन् ।
नगरपालिकाले प्राङगारिक गुणस्तर निर्धारण प्रणाली प्रवर्द्धन कार्यविधि बनाएर काम गरिरहेको लाली गुराँस नगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण निरौलाले बताउनुभयो । नगरपालिकाकाे डोपकिले, फिर्के र तीनजुरेको ओखरबोटे लगायतका खेती योग्य जमिनमा कार्यक्रम लागू भइरहेको छ । यसलाई सहज गराउन दलित सचेतना नेपाल तेह्रथुमले सहजीकरण गरिरहेको कार्यक्रमका दिर्नेशक कुमार विशंखेले बताउनुभयो।
नगरपालिकावासीहरुले स्थानीय स्तरमा उपलब्ध प्राङगारिक मल, गाई र भैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोग किरा पहिचान तथा व्यवस्थापन गर्दै आएका छन् । उनीहरुले तितेपाती, असुरो, खरानी, गाई र भैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने काम समेत गर्न थालेका छन् ।
प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गर्दा प्रति ईकाई भूमिबाट अधिक उत्पादन हुनुको साथै पर्यावरण वातावरण सन्तुलन राख्न सहयोग पुग्ने कृषि विज्ञको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्