२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनीको लगातार तेस्रो जित


156
Shares

काठमाडौं । राजधानीमा जारी नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार तेस्रो जित हात पारेको छ ।

शाड्ली भान सालवायकको अलराउण्ड प्रदर्शनपछि अल स्टार्सले मंगलबार पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको हो ।

बलिङमा तीन विकेट लिएका सालवायकले ब्याटिङमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै अविजित ३१ रन बनाए । पोखराले दिएको १३४ रनको लक्ष्य अल स्टार्सले अन्तिम बलमा ७ विकेट गुमाएर १३५ रन बनाउँदै पूरा गरेको हो ।

अल स्टार्सका लागि कुशल भुर्तेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३९ रन बनाए । पोखरा एभेन्जर्सका लागि विपिन खत्री र कुशल मल्लले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । कमजोर सुरुवातका बावजुत कुशल मल्लले अर्धशतक प्रहार गरेपछि पोखराले प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो ।

मल्लले आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए । उनले ३१ बल खेल्दै ५ चौका र ५ छक्का प्रहार गरे । उपुल थरंगाले ५१ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ४२ रन जोडे । कुशल र उपुलले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेपनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको लुम्बिनी अल स्टार्सले लगातार तेस्रो खेल जित्दै अपराजित रहँदा शरद भेषावकरको कप्तानीमा रहेको एभेन्जर्सको यो लगातार तेस्रो हार हो । लगातार तेस्रो जित हात पारेको लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।

पोखरा ३ खेलमा अंक विहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ । आजको दोस्रो खेलमा खेलमा काठमाडौं नाईट्स र जनकपुर रोयल्स भिडिरहेका छन् । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।