
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
अधिवक्ता रविराज बसौलालगायले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस ६ गते नै सुनुवाइ भएपनि मंगलबार मात्र आदेशको प्रमाणित कपी आएको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्णकार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहनुभएको छ ।
पुस २२ गते लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानून व्यवसायीले बहस गर्ने र त्यसपछि अदालतले आदेश दिने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै रिट निवेदकले पार्टी सभापति पदसमेत खारेज गर्न माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्