
काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजारमा उछाल जारी रह्यो ।
नयाँ सरकारको टुंगो लागेसँगै सोमबारेदेखि लगानीकर्ता उत्साहित बनेका हुन् । नेप्सेमा ६० अंक बराबरको उछाल आएर २ हजार नजिक पुग्दा कारोबार समेत बढेर ४ अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ६० अंक बराबरले बढेर १९ सय ८३ पुगेको हो ।
सोमबार अन्य समूह बाहेक अरु हरियो रहेकामा आज सबै समूहमा हरियाली छायो । लगानी समूह सबैभन्दा उच्च साढे ६ प्रतिशत बराबरले बढ्यो । अंकका आधारमा जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय अंक बराबरको वृद्धि हुँदा निर्जीबन बीमा समूह पनि ३ सय अंक बराबरले उकालो लाग्यो ।
होटल तथा पर्यटन र विकास बैंक समूह पनि सय अंक बढीले बढे । जलविद्युत समूहमा पनि सय अंक नजिकको वृद्धि आयो । बाँकी पनि अधिकांश समूह उच्च दरको दोहोरो अंकले उकालो लाग्दा वाणिज्य बैंक समूह पनि ३५ अंकले बढ्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्नमा २ सय ६१ कम्पनीको १ करोड २० लाख कित्ता शेयर ३ अर्ब ८८ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये २ सय २ कम्पनीको मूल्य उकालो लाग्दा ८ को घट्यो । यस दिन सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पज फाइनान्स, सृजनशील लघुवित्त, कालिका पावर लगायत करिब दर्जन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत बराबर कमाए ।
प्रतिक्रिया दिनुहोस्