
नेपाली सत्ता राजनीतिले एकै दिनमा यसरी ३६० डिग्रीको फन्को मार्ला भनेर राजनीति गर्ने नेता, कार्यकर्ता र सामान्य भोटरहरूले सपनामा समेत सोचेका थिएनन् – होलान् । कुनै बेलामा राजनीतिले यस्तैयस्तै अनपेक्षित परिणामहरू दिने भएकाले नै राजनीतिलाई ‘सम्भावनाको खेल’ भनिएको हो कि ?
संसदमा कसैको बहुमत नहुनुको परिणाम र नेपाली कांग्रेसको ठूलो पार्टी भएर जितेको हूँ भन्ने अहम्ताको पराकाष्टा हो – यो अनपेक्षित नतिजा । जे भएको छ त्यो ठिक भएको छ किनकि यसले एकातिर देउवाको अहंमलाई मल्हमपट्टि गरेको छ भने अर्कोतिर नेकपा एकीकृत समाजवादीलाई चुनावको नतिजाले राष्ट्रिय पार्टी बन्नबाट रोकेकै माहोलमा अहिले झन् १० जना सांसदलाई तितरबितर पार्ने रणनीति गहिरो रूपमा लिएको छ ।
बास्तवमा राजनीति अब कम्तिमा नेपालमा चाहिँ राजनीति रहेछ । यो मामुली लुँडो खेलमा सर्प र भरेङ्को माध्यमले लुँडो जित्ने खेल सावित भयो । पूर्व पत्रकार रवि लामिछानेले भर्याङ चढेर एकाएक देख्नेगरी सफलता चुमेकाजस्ता देखिएका छन् भने सत्ता र शक्तिका माहिर खेलाडी मानिने राजनीतिज्ञ शेरबहादुर देउवाचाहिँ खेलको अर्को रोचक पक्ष लुँडोको सर्पको मुखमा छिरेर घट्ने अङ्कमा झरेका छन् । खेल हो कोही नझरे त अर्को उक्लँदैन पनि नि हैन र ?
रविलाई गृहमन्त्री ठिक छ । उपचाहिँ नझुण्ड्याइदिएको भए हुन्थ्यो कि ? उनले धेरै कुरा चुनावताका नै बोलेका छन् । ती कुराहरू पूरा गरे भने यिनका विश्वास जनताले मान्लान् नत्र फेरि जनताले यिनलाई नै अर्को चुनावसम्म सून्यमा समेत झारिदिन बेर लाउँदैनन् । यस्ता आशयका टिप्पणीहरू समेत आएछन् – राजनीतिका बजारमा । केहीले खरो जवाफ लेखेछन् ‘उनको नागरिकता र पासपोर्टको छानविन हुँदैथ्यो अब उनी नै नागरिकता मन्त्री भएपछि पुरानो नेपाली उखान ‘चोरका हातमा चाबी’ झैँ भएन र ?’ लोकतन्त्रमा नागरिकको मुख थुन्न सकिँदैन क्यारे !
उहिले पञ्चायतले रवि लामिछानेहरूजस्ता पहिलो इन्ट्री गरेका मन्त्रीलाई ‘सहायक मन्त्री’ या ‘राज्य मन्त्री’ मा प्रवेश दिन्थ्यो एक कार्यकालको बाटो हेथ्र्यो । राम्रो काम गरे र जनताको स्याबासी बटुले भने अर्कोपल्ट मात्र फूल मन्त्रीमा बढुवा गथ्र्यो तर अहिले जमाना बद्लियो सुरुमै ‘फूल मन्त्री’ यो नेताको क्वालिटी बढेको हो कि व्यवस्थाको क्वालिटी खस्केको हो ? रवि त रवि भैहाले अन्य ४ जना राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदर भण्डारी र अब्दुल खानजस्ता नयाँ अनुहारलाई पनि किन ‘फूल मन्त्री’ नै दिइया होला ? यो गुह्य कुरा जनता बुझ्न चाहन्छन् ।
नवनियुक्त रवि लामिछानेजी साँच्चै जनताको मन जित्न चाहनुहुन्छ भने यहाँ सम्मिलित मन्त्रीमण्डलमा ‘प्रदेश खारेजी’को प्रस्ताव लानु होला । यही प्रस्ताव नै तपाईंको राजनीतिको आरोहण मसला बन्नसक्छ नत्र तपाईं ढोँगी राजनीतिको एक खलपात्रमा सीमित हुनुको विकल्प देखिन्न । पत्रकारिता गरेकाले तरल समय र जनताको तरल मानसिकतालाई तपाईं बुझ्ने ल्याकत राख्नुहुन्छ । यो सरकार यही हालतमा लामो समय जाँदैन किनकि यसका आफ्ना सीमाहरू छन्हु/न्छन् ।
रातोदिन घोक्रो फुलाइफुलाई गठबन्धनको राग अलाप्नेहरू अब कुन मन्त्र जप्ने हुन् ? अचम्म लागिरहेको छ । सत्ताको लोभी बिरालो ‘म्याउ’ गर्यो ! अचम्म भएन । तर यहाँ त आफूलाई बाघ दावी गर्ने ‘लामिछाने’ र ‘लिङ्देन’को सत्ता लिप्सा छताछुल्ल भयो ! आदर्शका नै कुरा गर्ने हो भने चौथो र पाँचौं दललाई सत्तामा जाने म्यान्डेट थियो होला त ? अवश्य थिएन त्यसैले ज्ञानी राजनीतिज्ञहरूले बेला बेलामा भन्ने गरेका छन् –‘संसारमा जे हुन्छ त्यो नेपालमा हुँदैन तर नेपालमा जे हुन्छ त्यो संसारमा कहिल्यै हुँदैन ।’ यही सूत्रमा वर्तमान समयमा ‘देउवा’ र ‘ढेउवा’ को जोर चलेन ।
के यसले आकासै खसेको छ त ? छैन । यो त राजनीतिक निरन्तरताका लागि एउटा घटना मात्र हो । यसले धैर्य र सिद्धान्तमा अविचलित राजनीतिज्ञहरू र असल कार्यकर्ताहरूको परोक्ष या प्रत्यक्ष रूपमा दैनन्दिन परीक्षा लिइरहेको छ ।राजनीतिक विश्लेषक विष्णु सापकोटा भन्छन् –‘देउवाको निर्णय ठिक थियो । चुनाव पछिको ठूलो दलले सुरुमै तेस्रो दललाई प्रधानमन्त्री सुम्पनु हुँदैनथ्यो । प्रचण्डको पनि ठिक छन् । बालकोटमा कसैले प्रधानमन्त्री पद किस्तीमा राखेर पर्खेको छ, देउवालाई किन नछाड्ने ? ओलीलाई पनि ठिक ५ वर्ष सत्ताबाहिर बस्न गाह्रो हुन्थ्यो । चुनाव हारेका र प्रतिपक्षमा बस्ने नेता कार्यकर्ताहरू सत्तासिन दलमा नभाग्लान् भन्ने के ग्यारेन्टी दिन सकिन्छ र ? अनि, नयाँ दलको सत्तामा अधिकार किन नहुने ?’
यसरी हाइटमा पुगेर विश्लेषण गर्दा त सबैले इथिक्सको राजनीतिक शैलीलाई नै पछ्याइरहेका छन् । सबैले जितेका छन् । श्याम व्यङ्ग्यमा पुराना पत्रकार कपिल काफ्ले भन्छन् –‘प्रचण्ड, ओली लगायतका नेताहरूले गएको दुई वर्षमा बोलेका सार्वजनिक बोलीहरू सामाजिक सञ्जालबाट हटाइहालौं, नत्र मान्छे हाँसेरै मर्ने भए ।’ नेपाली राजनीतिलाई असम्भव केही छैन भनेर यस्तैयस्तै घटनाहरूमा नेताहरूले गर्ने उट्पट्याङ्लाई हेरेर सम्भव होला भनिएको हो कि ?
लगभग ७ मध्ये ६ प्रदेशका मुख्यमन्त्री र केन्द्रको १ सत्ता गरी काँग्रेसका हातबाट ७ वटा सत्ताहरू एकाएक खोसिएकाले यतिखेर काँग्रेस तिल्मिलाएको देखिन्छ । गम्भीर अध्येता बालकृष्ण भट्टराई भन्छन् –‘तासको भाषामा भन्ने हो भने सिक्वेन्स मिलाउन नसक्दा ८९ को माल ढुँस भयो । देउवाले प्रचण्ड नामको सिक्वेन्स मिल्ने अल्टर कार्ड फ्याले । ओलीले टिपेर सो गरे । खेल खत्तम ! सत्ता हजम !!’
लगभग देउवाको छैँटौंपटक प्रधानमन्त्री हुने भविष्य हेर्ने ज्योतिषीको भविष्यवाणि चौपट् भयो । यता देउवाको सपना हुरीले उडायो भने अर्कातिर माधव नेपालको चुनावताका चर्चित भएको ‘बिना ढेउवा के’ भन्ने शैलीले हावा खायो । अब बँचेखुँचेका केही थान स्वतन्त्र सांसदहरू समेत कोही एमालेमा कोही माओवादीमा जाने भए भन्ने पिर माधव नेपाललाई परेको हुन सक्छ ।
नेकपा एकीकृत समाजवादीका हरूवा नेता झलनाथ खनाल र नेपाली काँग्रेसका चुनाव जितेका नेता रामचन्द्र पौडेलद्वयको राष्ट्रपति हुने सपना यतिखेर बयेलिएको देखियो । अब एमालेका पोल्टामा राष्ट्रपति पद आएकाले सांसद सुवाष नेम्वाङ या बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको भाग्य बल्ने स्थिति देखियो ।
एमाले अध्यक्ष केपी ओलीलाई सिंहदरबारबाट सकुनी चालले बालकोटको बार्दलीमा हुत्याएर पुर्याइदिने प्रचण्डलाई उनै ओलीले बालकोट बार्दलीमा बोलाएर हात मिलाएर फोटो के खिच्या थिए प्रचण्ड एक्कैपल्ट सिंहदरबारमा सानका साथ इ्रन्ट्री गर्ने भए । सायद् यसैको नाम राजनीति हुनुपर्छ ।
चुनाव अघिका एक्जिट पोल र राजनीतिक विश्लेषणले समेत नराम्ररी हावा खाएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका बूढा नेताहरूको एकाएक राजनीतिक भविष्य सबै चौपट बनाउने ओलीको बुमर्याङलाई भने मान्नै पर्छ । उनी यो समयका सबैभन्दा चलाख र सफल कूटनीतिक नेता हुन् । बोलीमा, लोलीमा, झेलीमा र खेलीमा कम्तिमा उनलाई बाँचेका र क्रियाशील कुनै नेपाली राजनीतिज्ञले भेट्न सक्दैनन् भन्ने कुरा अढाइ वर्षअघि देखिको कांग्रेस, माओवादी र एकीकृत समाजवादीको अपवित्र गठबन्धनलाई जसरी पनि फुटाउने चालमा लागेका थिए –केपी । हो, त्यो चाल गत १० गतेको प्रहारबाट सफल भएको छ ।
एकातिर सत्ता आफैँतिर फर्किएको छ भने अर्कोतिर पाँच दलीय गठबन्धन कम्तिमा पनि चकनाचुर भएर फुटेको छ । सरकारले एक महिना भित्रमा लिन सकिने विश्वासको मत प्रधानमन्त्री प्रचण्डले लिन सके भने दुई वर्षलाई अकण्टक नेपालको प्रधानमन्त्री भइरहन सक्छन् । कम्तिमा यस मामलामा उनलाई संविधानले नै हटाउन दिने छैन ।
‘आखिर श्रीकृष्ण रहेछ एक…….दौरा सुरुवालाय नमः । प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवाल लगाएर एउटा छुट्टै मानक बनाए । स्खलन, विसर्जन र प्रदर्शन सबै सबैको संयोग हो दौरा सुराल । ओलीले प्रचण्डलाई दौरा सुरवाल पहिरिने बनाए । हार्दिक बधाइ कमरेड ओली र कमरेड प्रचण्ड । सामन्तवादको प्रतीक दौरा सुरुवाल पनि प्रचण्डको शरीर सजाएर दङ्गदास भयो !’ – विश्लेषक सञ्जीव कार्की सटिक शैलीमा लेख्छन् ।
मौकामा लौका टिप्न सफल प्रचण्ड र केपी ओलीलाई अहिलेलाई शुभकामना ! बाँकी १ सय दिनको हनिमुन पिरियड सफलतापूर्वक सम्पन्न गरेपछि बधाइका सिर्जनात्मक फाँकीहरू नै दिनु पर्ने हुन्छ किनकि ती बधाइका क्लुहरूमा देश विकासको गुत्थी लुकेका हुन्छन् । यसरी पनि अहिलेलाई चित्त बुझाउने शैली अपनाइएको हो । कि कसो ?
प्रतिक्रिया दिनुहोस्