२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘स्कुल टु ओलम्पिक’ सुदूरपश्चिमबाट सुरु


78
Shares

कैलाली । विद्यार्थीलाई खेल क्षेत्रमा प्रोत्साहित गर्न स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सातै प्रदेशमा आयोजना हुने कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट थालिएको हो । नेपाल ओलम्पियन संघ तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा खेलाडीलाई खेल क्षेत्रमा लाग्नका लागि प्रेरणा दिन स्कुल टु ओलम्पिक कार्यक्रमको अवधारणा अगाडी ल्याइएको हो ।

नेपालको कीर्तिमानी खेलाडी भनेर चिनिएका र ओलम्पिकमा सहभागिता जनाएका खेलाडीले विद्यार्थीलाई खेलकुद क्षेत्रमा लाग्न उत्प्रेरित गर्नका लागि स्कुल टु ओलम्पिक कार्यक्रम अगाडी ल्याइएको हो । सुदूरपश्चिम प्रदेशमा ६ जना ओलम्पियनहरुले आफ्नो अनुभव र संघर्षको कथा विद्यार्थीमाझ बाँडेका छन् । यसले विद्यार्थीलाई खेल क्षेत्रमा लाग्न प्रेरित गरेको छ ।

ओलम्पिकमा खेल्नका लागि स्कुल जीवनदेखि नै सपना देख्नुपर्ने भन्दै ओलम्पियनहरुले अहिले स्कुलहरुमा आफ्नो खेल जीवनका अनुभूतिहरु युवा विद्यार्थी खेलाडीलाई सुनाउन थालेका छन् । कीर्तिमानी खेलाडीसँग साक्षात्कार र भलाकुसारी गर्न पाउँदा विद्यार्थीहरु हर्षित भएका छन् । विद्यार्थीसँग प्रत्यक्ष रुपमा खेलाडीहरु सहभागि हुन पाएकोमा खुसी लागेको प्याब्सन कैलालीका अध्यक्ष तोपेन्द्र शाह बताउनुहुन्छ ।

खेलकुद क्षेत्रमा लाग्नका लागि नाम सुनेका र उनीहरुको बारेमा जानेका विद्यार्थीले उनीहरुसँग कुराकानी गर्दै प्रश्नोत्तर समेत गरेका छन् । यसले आगामी दिनमा खेल क्षेत्रको माहोल बढाउन मदत्त पुग्ने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंह बताउनुहुन्छ ।

स्कुल टु ओलम्पियन कार्यक्रममार्फत युवालाई खेलकुदमा उत्पे्ररित गराउन अभियान थालिएको हो । यसले आगामी दिनमा खेल क्षेत्रमा टेवा पुग्ने नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक बिष्ट बताउनुहुन्छ ।

सुदूरपश्चिममा भएको स्कुल टु ओलम्पियन कार्यक्रममा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, दिपक विष्ट, डम्मर भट्ट, विष्णुबहादुर सिंह, देवु थापा, प्रमिला रिजालका साथै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीसँग एकै मञ्चमा बसेर आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए ।