
डडेल्धुरा । बजारकाे अभावका कारण डडेल्धुराकाे परशुराम नगरपालिकाका कृषकहरूले लगाएको केरा बारीमा नै कुहिने अवस्थामा पुगेको छ ।
जिल्लाको दुर्गम बस्ती परशुराम नगरपालिकाको-६ खालीगडा, कराली, भोरकुण्डा गाउँमा स्थानीय कृषकहरूले लगाएको हजारी, मुसे, मलौटे, मालभोग, तपसी, मुँगरी र देशी जातका लटरम्म फल्ने केराहरुको बजारीकरण नहुँदा खेर गइरहेको स्थानीय कृषकहरूले हुन् । गाउँभरी केरा लगाइएका छन् । तर बिक्री गर्ने बजार छैन, पाक्दै गरेका केरा बिक्री गर्न दुई घण्टा भारी बोकेर सदरमुकाम साँदनी र चन्दनी पुग्नुपर्छ भन्दै स्थानीय भुपेन्द्र धामीकाे गुनासो छ ।

साँदनी बजार भन्दा उता गाडी चल्दैनन, हरेक कृषकले डोकोमा २५ दर्जन जति केरा बोकेर बजार चहार्दै जाँदा समयको बर्बादी त भयो नै कतिपय अवस्थामा त बाडेर खाने र कुहिएर जाने केरालाई गाईबस्तुलाई खुवाउनु पर्ने बाध्यता रहेको धामीकाे भनाइ छ । प्रत्येक कृषकसँग १५/२० वटा केराका बोटहरु रहेका छन । प्रत्येक घरी ५ देखि १० दर्जन जति केरा हुन्छन् । ५० रुपैयाँका दरले बिक्री गरिए पनि वार्षिक हजारौं आम्दानी हुने निर्वाहमुखी केरा खेतीले पनि पायक पर्ने बजार नपाउँदा कृषकहरु आय आर्जनबाट पनि वञ्चित भएको महाकाली कृषक समूहका अध्यक्ष काशिराज खत्रीले बताउनुभयाे । साेही क्षेत्रलाई केरा विकास तथा प्रवर्द्धन गर्न स्थानीय परशुराम नगरपालिकालाई विगतमा पकेट क्षेत्रको रुपमा कार्यक्रम दिई कृषकलाई व्यवसायिक रुपमा केरा खेतीका लागि प्रोत्साहन गर्नु पर्ने प्रस्तावना दिए पनि नगरपालिकाले उपेक्षा गरेको उहाँको गुनासो छ ।

डडेल्धुरा जिल्लाको दक्षिणि अन्तिम सीमानामा रहेका स्थानीय जनता साँदनी कौवानी ब्रह्मदेव कञ्चनपुर सडक निर्माण कार्यले निरन्तरता नपाउँदा वार्षिक २ लाख जतिको उत्पादन हुने केरा स्थानीय गाउँमा मात्र खपत नहुने साँदनीका स्थानीय कृषक हर्कबहादुर मालले बताउनुभयाे । परम्परागत रुपमा केरा खेती गरेका कराली क्षेत्रका जनताले केरा खेतीका लागि अहिलेसम्म कुनै पनि सरकारी निकायबाट आर्थिक, प्राविधिक लगायत कुनै सहयोग पनि नपाएको स्थानीय खडक सिंह धामीकाे भनाइ छ । केरा पाकेपछि कहाँ लैजाने भन्ने पिरलो यहाँका कृषकलाई हुने गरेको उहाँकाे तर्क छ ।

केरा बिक्री गर्नका लागि अधिकांश महिलाहरु घरको काम थाँती राखेर गाउँघरमा जाने गरेका छन् । एकातिर केराको मूल्य दरमा बार्गेनिङ अर्कोतिर केरा बिक्री गर्न दिनभरी समय खर्चिनु पर्ने यहाँका कृषकहरुलाई रहेको स्थानीय कृषक महिला भागरथी देवी धामीकाे गुनासाे छ । ३ दशकदेखि सडक निर्माणको चर्चा रहे पनि यातायातका साधन र पहुँचबाट वर्षौंदेखि वञ्चित रहेका यस क्षेत्रका कृषकहरुका लागि केरा बिक्री गर्ने सहज र नजिक बजार भारतको टनकपुर भएपनि महाकालीमा पुल नहुँदा आवागमन जोखिम र सास्तीपूर्ण रहेको कृषक भुपेन्द्र धामीले बताउनुभयाे ।

यातायातकाे सुविधा नहुँदा कृषि उपजको बजारीकरण तथा व्यवस्थापन सुविधाबाट पनि वञ्चितिकरणमा परेका स्थानीय कृषकका पीडालाई सम्बोधन गर्न सराेकार निकायको ध्यान जानुपर्ने स्थानीय कृषकहरूकाे माग रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्