
पाल्पा । पाल्पाको पहिचानसँग जोडिएको करूवा उद्योग कच्चा पदार्थको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।
कच्चा पदार्थ र काँसको आपूर्तिमा समस्या भएपछि पाल्पाली करूवा इतिहासमा सीमित हुने खतरा बढेको हाे । विगतमा तानसेनमा २५ वटा उद्योगमा करूवा उत्पादन हुँदै आएपनि अहिले ३ वटा मात्र सञ्चालनमा रहेकाे छ ।
पाल्पाली करूवा विशेष गरी चिनोको रुपमा दिने चलन रहेको छ । तर आफ्नो छुट्टै पहिचान बनाएको पाल्पाली करूवा उद्योगहरु कच्चा पदार्थ काँसको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । भारतबाट आउने कच्चा पदार्थ काशको पछिल्लो समय महँगी बढेपछि आयातमा कमी आएको छ ।
यहाँको करूवा जापान, बेलायत, अमेरिका र थाइल्याण्डसम्म निर्यात हुने गरेपनि माग अनुसार उत्पादन हुन सकिरहेको छैन । करूवा बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा र उत्पादनका लागि काँच, मैन र कोइलाको अभावले उद्योगहरू संकटमा परेका हुन् । विगतमा तानसेनमा २५ वटा उद्योगमा करूवा उत्पादन हुँदै आएपनि पछिल्लो वर्षमा ३ वटा मात्र सञ्चालनमा रहेकाे पाल्पाका करूवा उद्यमी महेन्द्रमान बज्राचार्य र उद्यमी केशव बज्राचार्यले बताएका छन् ।
कच्चा पदार्थ काँसको आयातमा अतिरिक्ति १३ प्रतिशत भ्याट लाग्ने हुँदा खरिद गर्न समस्या भएकाले नयाँ उद्यमी उत्पादनका लागि तालिम, सहुलियतपूर्ण कर्जाको कार्यक्रम ल्याउन लागेको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो।
पाल्पाली करूवाको ब्रान्ड नै लोप हुने अवस्थामा पुगेकाले यसको उत्पादन बढाउन ३ तहकै सरकारले कच्चा पदार्थको सहज आपूर्तिदेखि युवालाई करूवा उद्योगमा आकर्षित बनाउने कार्यक्रम ल्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्