१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछु : यादव


338
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउने बताउनुभएको छ ।

बुधबार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताउनुभएको हो ।

उहाँले पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भुमिकालाई सशक्त रुपले निर्वाह गर्ने बताउनुभयो । उहाँले जसपा वर्तमान परिवर्तन र संघीयताको बाहक भएको भन्दै आफूहरुले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताउनुभयो । उहाँले मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिला लगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले संसदीय दलको नेताको रुपमा पार्टीको विधान र पार्टीको निर्देशन अनुरुप संसदमा भुमिका खेल्ने बताउनुभयो । उहाँले आफुले इमान्दारिता र निष्ठाको साथ काम गर्ने पनि बताउनुभयो ।

नेता यादवले पार्टी सरकारमा जाने, नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने स्पष्ट पार्नुभयो ।

बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव बुधबार पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । एउटा मात्रै उम्मेदवारी दर्ता भएपछि दलको नेतामा उहाँलाई निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो ।