११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पानी नपर्दा सुक्खापन बढ्यो


26
Shares

काठमाडौं । लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू-भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो ।

पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको बताइएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन । उता पानी नपर्दा बढेको सुक्खापनले कृषि क्षेत्रमा पनि असर पर्न थालेको बताइएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुस १३ सम्म पानी पर्न सकेको छैन । उहाँका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।

नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भएपनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको मौसमविद् कँडेलले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया काठमाडौंमा डिसेम्बर महिनामा १३.२ मिलिमिटर पानी पर्नुपर्छ । तर, यो वर्ष बुधबार डिसेम्बर २८ सम्म पनि पानी पर्न सकेको छैन । पानी नपर्दा काठमाडौंसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ । उता वर्षा नभई प्रदूषणसँगै सुक्खापन समेत बढेकाले आगलागीका घटना पनि बढ्न थालेका छन् ।

बुधबार हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । उता लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ भने अरु ठाउँको मौसम भने सामान्यता सफा नै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।