२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीको दर्मिजाका तातोपानी कुण्ड व्यवस्थित बन्दै


247
Shares

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्डहरुमा जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्डहरु व्यवस्थित बनेका छन् ।

दर्मिजा गाउँको पुछारमा रघुगंगा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । सो कुण्डमा स्नान गर्दा छाला सम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्याहरु निको हुने विश्वास छ ।

यस अगाडि सानो पोखरी रहेकोमा गतवर्ष जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण भएको जानकारी उपभोक्ता समितिका अध्यक्ष बिप्रसाद पुनले दिनुभयो ।

सो पोखरीमा एक पटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन् । मन्दिरको देब्रेतर्फ साना-ठूला गरी तीनवटा पोखरी छन् । एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्नसक्ने गरी पक्की पर्खाल सहित निर्माण गरिएको छ ।

यी पोखरी निर्माण गर्न जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयले ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिमको बेलामा पनि स्थानीय मजदुर परिचालन गरि पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष तबहादुर शेरपुंजाले बताउनुभयो ।

यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकहरुलाई बस्न मिल्ने स्थानहरुको निर्माण पनि यस अगाडि भईसकेको कुरा स्थानीय ललिता गर्बुजाले बताउनुभयो । यस पोखरीको नजिक एउटा आर्कषक झरना समेत रहेको छ । निवर्तमान गण्डकी प्रदेश सांसद विनोद केसीको पहलमा यो योजनाको लागि बजेट विनियोजन भएको हो ।

यस स्थानलाई सुरक्षित राख्नको लागि अहिले तटबन्धको कार्य समेत भईरहेको जानकारी अध्यक्ष पुनले दिनुभएको छ ।